सहकारी बैंककाे अध्यक्ष उप्रेति सम्पर्कमा नरहेपछि रमेश पोखरेल पठाउने तयारीमा एमाले

824

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेति एकाएक गायव भएपछि बैंकमा अध्यक्षको जिम्वेवारी कसले लिने भन्नेबारे छलफल सुरु भएको छ । नेकपा एमालेको सहकारी विभागका सचिव समेत रहेका उप्रेतिले बैंकमा समेत कुनै औपचारिक जानकारी दिएका छैनन् । करिव २० दिन अगाडी राष्ट्रिय सहकारी बैंकको बोर्ड बैठकमा करिव ७ मिनेट वाट्सएप मार्फत सम्पर्कमा आएका उप्रेति त्यसपछि कसैको सम्पर्कमा छैनन् ।

उनी सम्पर्कमा नभएको मौकाको फाइदा उठाउदै नेकपा एमालेले भने सहकारी विभागको सचिवबाट पनि उनलाई हटाइसकेको छ, भने बैंकको अध्यक्ष राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेललाई बनाउने तयारी गरिरहेको छ ।

उनी एकाएक गायव भएका ४३ औ दिनमा बैंकले संचालक समितिको बैठक डाकेको थियो । सो बैठकमा वाट्सएप मार्फत सम्पर्कमा आएका उप्रेतिले नैसवै निर्णयहरु गराएका थिए । त्यसपछि भने उनी कसैको सम्पर्कमा छैनन् । उनी भारतको गुडगाउँमा अल्सरको उपचार गराइरहेको भन्ने उनको पारिवारको दावी रहेको छ ।

आइडल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष समेत रहेका उनी सो सहकारीमा समस्या आएपछि गायव भएका थिए । उनी गायव भएको मौकाको फाइदा नेकपा एमालेका सहकारी विभाग प्रमूख खगराज अधिकारी र राष्ट्रिय सहकारी महासंघका पुर्व अध्यक्ष केशवप्रसाद वडालले उठाउन लागेका हुन् । उनीहरु अव सहकारी बैंकमा रमेश पोखरेललाई स्थान दिनुपर्ने लविङका लागि लागिरहेका छन् ।

आइबार मुख्यमन्त्री बन्नका लागि खगराज अधिकारी पोखरा गएका छन् तर उनले सहकारी बैंकमा पोखरेललाई ल्याउनुपर्ने बडालको अडान सहमति गरेको पाइएको छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेल भने बैैंक जोगाउनका लागि यदी पार्टीले अध्यक्ष बन्नुपर्छ भनेमा आफू तयार रहेको बताए । उनले भने, ‘सहकारी बैंकको निवर्तमान अध्यक्ष भएको नाताले बैंकमा समस्या पर्न लागेमा सहयोगको लागि हरदम तयार छु, तर त्यसको लागि पार्टीले जा भन्नु पर्यो ।’  पदीय हिसावले पनि अध्यक्ष पछिको दोस्रो स्थानमा म नै छु’ । उनले भने

 

त्यस्तै उच्च स्रोतका अनुसार उप्रेति सम्पर्क विहिन हुदा चलखेल गर्नेहरुको सख्ंया बढेको र त्यसले बैंकलाई नै असहज अवस्थामा पार्न सक्ने भएकोले बाँकी संचालक समितिले बैठक डाकी बहुमतको आधारमा कार्यवाहक संचालकको जिम्वेवारी तोक्न लागिएको छ ।

हाल कार्यवाहकको रुपमा संचालकहरु महेन्द्र गिरी, रामहरी बजगाई, मनोज थापा वा केदार मानन्धर कसलाई दिने भन्नेबारे कुराकानी भइरहेको छ । तर एमालेका सहकारी विभाग प्रमूख अधिकारी भने उप्रेतिका कारण पार्टीको समेत बदनाम भएकोले उनलाई अध्यक्षबाट हटाउनुपर्ने तर्क गरिरहेका छन् । उनले नेपाल राष्ट्र बैंकका उच्च तहका अधिकारीहरुसँग पनि यसबारे छलफल गरिरहेका छन् ।

बचत तथा ऋण सहकारी केन्द्रिय संघ (नेफ्स्कुन)को संचालक समितिको चुनावमा उप्रेतिले एमालेको औपचारिक उमेदवार परितोष पौड्याल विरुद्ध नेपाली कांग्रेसका उमेदवार चन्द्रप्रसाद ढकालाई साथ दिएको राष्ट्रिय सहकारी महासंघमा मिनराज कँडेलाई पुन दोहोर्याउन नदिएको रिस अधिकारीमा गढेको छ । सोही इगोका कारण अधिकारी उप्रेतिको घोर विराधी भएका थिए । यही समयमा मर्जमा गएको उप्रेतिको सहकारी समस्यामा परेपछि अधिकारी उप्रेति विरुद्ध खुलेआम लागेका हुन् ।

के छ कानुनी व्यवस्था ?
पछिल्लो समयमा सहकारी बैैंकको संचालक बन्नका लागि सलवलाएकाहरुले अध्यक्ष केवी उप्रेति विरुद्ध सहकारी ऐन २०७४ को दफा ४५ को क अनुसार कारबाही गर्ने तयारी थालेको पाइएको छ । सो व्यवस्था अनुसार आर्थिक हिनाविना गरी सम्बन्धी संस्थालाई नोक्सानी पुर्याएको खण्डमा सम्बन्धीत अध्यक्षलाई स्पष्टीकरण दिने मौका दिनुपर्ने छ । यदी स्पष्टीकरण चित्तबुझ्दो नआएमा साधारणसभा गरी बहुमतको आधारमा सो संचालकलाई हटाएर बाँकी अवधिको लागि नयाँ अध्यक्ष चयन गर्न सक्नेछ ।

हाल कसैको पनि सम्पर्कमा अध्यक्ष उप्रेति नआएकोले उनलाई कागजी प्रकृयाबाट नै हटाउन सकिने तर्क पनि कतिपय सहकारीकर्मीहरुको रहेको छ ।

त्यस्तै सहकारी ऐन २०७४ को दफा ५९ अनुसार नेपाल राष्ट्र बैंकले सहकारी बैंकको व्यवस्थापनको जिम्मा लिन वा अर्को व्यक्ति व्यवस्थापनमा पठाउन सक्ने छ । सो दफा (१) को (ग) अनुसार सहकारी बैंकको संचालन दक्षतापुर्वक र प्रभावकारी रुपमा नगरी सो बैंकलाई हानी नाोक्सानी पुर्याएमा पनि अध्यक्ष हटाउन सक्ने व्यवस्था रहेको छ ।

सोही व्यवस्थालाई टेकेर अध्यक्ष बन्ने दौडमा केही व्यक्तिहरु लागिरहेका पनि देखिन्छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि नेकपा एमाले निकट भएकोले सो व्यवस्थामा टेकेर कोही व्यक्तिलाई अध्यक्षको जिम्वेवारी दिने सक्ने अवस्था रहेको उच्च स्रोतले जानकारी दिएको छ ।