प्राइम, कुमारी, इन्भेष्टमेन्ट मेगा र लक्ष्मी सनराइज बैंक कारबाहीमा

44

कााठमाडौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (माघ–कात्तिक) मा आधा दर्जन बैंकहरूलाई कारवाही गरेको छ । केन्द्रीय बैंकले जारी गरेका विभिन्न निर्देशन उलंघन गरेको भन्दै बैंक सुपरिवेक्षण विभागले प्राइम कमर्सियल, कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा र लक्ष्मी सनराईज बैंकका साथै लुम्बिनी विकास बैंक र एपेक्स डेभलपमेन्ट बैंकलाई कारवाही गरेको हो ।

राष्ट्र बैंकले निर्देशन अनुसार कर्जा सापटीको वर्गिकरण नगरेको, कर्जा नोक्सानी वापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, जोखिम भारित सम्पति सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको र थप कर्जा नोक्सानी कायम गर्न दिइएको निर्देशन पालना नगरेकोले प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई कारवाही गरेको छ । उनलाई नेपाल राष्ट्र बैंक ऐन–२०५८ को दफा १०० उपदफा २ को खण्ड (क) को प्रावधान अनुसार नसिहत दिइएको हो ।

यस्तै नीति, निर्देशन तथा नियमनको परिपालना भए नभएको सम्बन्धमा सञ्चालक समितिबाट पर्याप्त अनुगमन नभएको भन्दै बैंकको संचालक समितिलाई समेत सोही व्यवस्था अनुसार सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै कुमारी बैंकले पनि कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानी वापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको तथा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि विपरीत ब्याज अनुदान दिएको कैफियतमा सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।

बैंकले प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकको मार्गदर्शन भन्दा बढी भत्ता र सुविधा दिने गरी करार सम्झौता गरेको भन्दै १३ महिना १६ दिनको पारिश्रमिक भनी २ करोड ३ लाख रुपैयाँ भुक्तानीमा संचालक समितिलाई सचेत गराउनुका साथै उक्त रकम फिर्ता गराएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

राष्ट्र बैंकले प्रतितपत्र परिपक्क हुने मिति बारम्बार थप गरी असल कर्जाको रुपमा देखाएको भन्दै नेपाल इन्भेष्टमेष्ट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतलाई पनि सचेत गराएको छ । ‘बैंकको कमलादी शाखाबाट खोलिएको प्रतितपत्र बैंककै कालीमाटी शाखाले यकिन गरी गरी सो प्रतितपत्र अन्तर्गत भएको कारोवारमा विभिन्न मितिमा निवेदक कम्पनीबाट प्रमिसरी नोट जारी गरी लाभग्राहीबाट बैंकले ४१ अर्ब ३६ करोड बराबरको बिल्स पर्चेज गरी कर्जा सापटमा देखाएको र सो प्रतितपत्रको परिपक्क मिति बारम्बार थप गरी सो कर्जालाई २०७९ चैत्र मसान्तसम्म इभरग्रिनिङ गरी असल कर्जाकै रुपमा देखाई यस बैंकबाट जारी एकीकृत निर्देशन विपरीत कार्य गरेको’ राष्ट्र बैंकले उल्लेख गरेको छ ।

यस्तै इनभेष्टमेन्ट मेगाले आधार दर गणना गर्दा संस्थागत सामाजिक उत्तरदायित्व वापतको खर्चलाई समेत समावेश गरी आधार दर गणना गरेको र पँुजीकोष गणना गर्दा केही कर्जाहरुको जोखिम भारित सम्पत्तिलाई कम देखाई गणना गरेको समेत राष्ट्र बैंकले कैफियत औल्याएको छ ।

यस्तै राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंक (साविकको लक्ष्मी बैंकका) संस्थापक शेयरधनी राजेन्द्र खेतानलाई १० लाख रुपैयाँ जरिवाना गरेको छ । खेतानले बैंकबाट पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड कर्जा मध्ये ११ करोड ४४ लाख रकम आफ्नो खातामा ट्रान्सफर गरी उपयोग गरेको र उक्त कर्जाको ब्याजसमेत निज खेतानको खाताबाट भुक्तानी भएकोले राष्ट्र बैंकले जनाएको छ । बैंकले समयमा नै कर्जाको सदुपयोगिता अनुगमन नगरेको भन्दै कर्जा स्वीकृतिमा संलग्न प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको हो ।

यसैगरी राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार सम्पति शुद्धिकरण निवारण सम्बन्धी व्यवस्थाहरु परिपालन नगरेको भन्दै लुम्बिनी विकास बैंक र एक्सल डेभलपमेन्ट बैंकलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।