सरकारले मात्र सहकारीको समस्या समाधान गर्न सक्दैन : मन्त्री अधिकारी

67

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भने सरकारले मात्र सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न नसक्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघले ६७ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले समस्या समाधान गर्न सरकार, सहकारी र सर्वसाधारण मिलेर पहल गर्नुपर्ने आवश्यक्ता औल्याए ।

‘सहकारी भित्र देखिएका समस्याहरु समाधान गर्न सरकारले मात्र सक्दैन’ मन्त्री अधिकारीले भने ‘सहकारी बिग्रीनुमा कहाँ–कहाँबाट त्रुटी भयो सबैले खोजौं, सरकार, सहकारी र सर्वसाधारण सबैले पहल गर्नुे हो भनेमात्र समस्या समाधान हुन्छ ।’
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष केशवप्रसाद बडालले भने सहकारी क्षेत्रमा समस्या आउनुमा मुख्य दोषि सरकार रहेको बताए । एउटै व्यक्तिले धेरै ठाउमा जथाभावी सहकारी खोलेर दुरुपयोग गरेको र यसलाई नियन्त्रण गर्न नसक्नु सरकारको कमजोरी रहेको उल्लेख गरे ।

महासंघकी अध्यक्ष ओमदेवी मल्लले नीति, नियम, कानुनका व्यवस्थाहरु पालना नहुँदा सहकारी क्षेत्रमा समस्या देखिएको बताइन् । सहकारी ऐन तथा कानुनमा भएका कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण तथा बचत तथा कर्जा सुरक्षण कोष कार्यान्वयनमार्फत सहकारी क्षेत्रलाई सुधार गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा महासंघले विभिन्न व्यक्ति तथा संघसंस्थालाई पुरस्कार घोषणा गर्नुका लासै काठमाडौं विश्वविद्यालयको सहयोगमा महासंघद्धारा संचालित डिप्लोमा इन को–अपरेटिभ म्यानेजमेन्ट कोर्ष पुरा गर्ने दोस्रो ब्याजका विद्यार्थीहरुलाई सर्टिफिकेट समेत प्रदान गरिएको थियो ।

महासंघले राष्ट्रिय सहकारी पुरस्कार पूर्वअध्यक्ष केशव प्रसाद बडाल, उत्कृष्ट सहकारी पुरस्कार जिल्ला बचत तथा ऋण सहकारी संघ लि., मोरङ, उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार २०८० केशव प्रसाद दाहाल, प्रमुख कार्यकारी अधिकृत, वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ र सहकारी पत्रकारिता पुरस्कार सहकारी खबरका सम्पादक काजी श्रेष्ठ र मेरोलगानी डटकमकी रिपोर्टर सुधा देवकोटालाई प्रदान गर्ने घोषणा गरेको छ ।

यसैगरी उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार अन्र्तगत कोशी प्रदेशबाट नेपाल बहुउद्देश्यीय सहकारी संस्था, मधेशबाट सानाकिसान कृषि सहकारी संस्था हरिपुर २, सर्लाही, वागमती प्रदेशबाट युवा बचत तथा ऋण सहकारी संस्था चाँगुनारायण, गण्डकी प्रदेशबाट नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था नवलपरासी, लुम्विनी प्रदेशबाट हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था तुलसीपुर, कर्णाली प्रदेशबाट ग्रामिण बचत तथा ऋण सहकारी संस्था, सल्यान र सुदूरपश्चिम प्रदेशबाट किसान बहुउद्देश्यीय सहकारी संस्था लम्कीचुहा रहेका छन् ।