आज ६७ औं राष्ट्रिय सहकारी दिवस, त्रुटी र कमजोरीहरू सच्याउन महासंघको अपिल

79

काठमाडौं । आज ६७ औं राष्ट्रिय सहकारी दिवस । वि.सं २०१३ साल चैत २० गते चितवनमा पहिलो सहकारीका स्थापना भएको स्मरणमा हरेक वर्ष यस दिनलाई सहकारी दिवसका रुपमा मनाउने प्रचलन छ । यसै अनुरुप आज देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरी सहकारी दिवस मनाइदै छ ।

६७ औं राष्ट्रिय सहकारी दिवस मनाइरहदा यतिबेला नेपालको सहकारी अभियान भने सकसपूर्ण अवस्थामा छ । विषेश गरी बचत तथा ऋण सहकारीमा जम्मा भएको पुँजीको सुरक्षालाई लिएर सहकारी क्षेत्रमा संकट सिर्जना भएको छ । सदस्यको बचत फिर्ता गर्न नसकी समस्याग्रस्त भएका सहकारीहरुको संख्या बढीरहेको छ ।
विगत दुइ दशकयता नेपालमा सहकारीहरुको संख्यात्मक विकास तिव्र रुपमा भयो । जसको फलस्वरुप संस्थाहरुकोा संख्या ३० हजार नाघेको छ । सहकारीमा ७५ लाख भन्दा बढी सर्वसाधारण आवद्ध भएका छन् । यस्तै कारोबारको आकार पनि १० खर्बको हाराहारीमा पुगेको छ ।

सहकारीको संख्यात्मक विकास, विस्तार र कारोबार बृद्धिसँगै यसको प्रभावकारी अनुगमन र नियमन नहुँदा समस्यामा पर्ने संस्थाहरुको संख्या पनि बढिरहेको छ । जसको कारण सिंगो सहकारीप्रति नै सर्वसाधारणमा विश्वासको संकट सिर्जना भएको छ ।

६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी महासंघले सहकारी मुल्य मान्यता र सिद्धान्तहरूको कार्यन्वयनलाई अझ जोड दिएको छ । ‘हरेक सफल सहकारीको मुटुमा सुशासन हुन्छ । विश्वास, पारदर्शिता र जवाफदेहिता निर्माण यसको प्रमुख आधारशिला हो । सुशासनको सिद्धान्तको पालना गरेर हामी हाम्रा सहकारी संघ ÷ संस्थाहरूको सञ्चालनमा भएका त्रुटी र कमजोरीहरूलाई सम्बोधन गर्न सक्छौं ।’ अध्यक्ष ओमदेवी मल्लले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘यस विशेष अवसरमा सहकारी संघ ÷ संस्थालाई आफ्ना कार्य र निर्णयहरूमा निष्ठा, निष्पक्षता र नैतिक आचरणको उच्चतम स्तरहरू कायम राख्न समेत म हार्दिक आव्हान गर्दछु ।’

सहकारी दिवसका लागि महासंघले सहकारीमा सुशासनः प्रविधि र एकीकरण भन्ने थीम तय गरेको छ । यसले सहकारी आन्दोलनको भविष्यलाई आकार दिन एकीकरण र प्रविधिको प्रयोगमा समेत जोड दिएको महासंघले जनाएको छ ।

‘आजको द्रुत रुपमा विकास भइरहेको संसारमा, हामीले प्राविधिक विकासहरूलाइ अगाल्न र तिनीहरूलाई हाम्रो सहकारी अभ्यासहरूमा एकीकृत गर्न आवश्यक छ ।’ शुभकामना सन्देशमा भनिएको छ, ‘टेक्नोलोजीको शक्ति प्रयोग गरेर, हामीले दक्षता बढाउन, सेवा प्रवाहमा सुधार गर्न र सहज रुपमा समुदायसँग जोडिन सक्छौं । यसबाहेक, सहकारीहरू बीचको एकीकरणले सहयोग, समन्वय र सामूहिक कार्यलाई बढाउँछ जसले सहकारीलाई गुणस्ततरिय र दिगो वृद्धि हासिल गर्न सक्षम बनाउँछ ।’

महासंघले थीमका यी तीन विषयलाई प्रभावकारी रुपमा प्रचार प्रसार हुने गरी विविध कार्य गरेर सहकारी दिवस मनाउन र सँगै मिलेर एक जीवन्त र लचिलो सहकारी क्षेत्र निर्माणमा जुट्न समेत आवहान गरेको छ ।