राष्ट्र बैैंकको कडाइसँगै घरजग्गा र शेयरधितोमा बढ्यो कर्जा

76

काठमाडौं । नेपाल राष्ट्र बैैंकको कडाइसँगै बैंक, वित्तीय संस्थाबाट ओभरड्राफ्ट तथा चालू पुँजी शिर्षकमा कर्जा प्रवाह घट्न थालेको छ । जसका कारण बैंकहरु नगद प्रवाहमा आधारित (क्यास क्रेटिट), आवधिक कर्जा साथै व्यक्तिगत घरजग्गा तथा शेयर धितो शिर्षमा कर्जा बढाउन थालेका छन् ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) २०८०/०८१ को फागुनसम्ममा बैंकहरुको सबैभन्दा बढी ओभरड्राफ्ट कर्जा ४३ प्रतिशतले घटेको छ । असारमा बैंकहरुले २ खर्ब ३१ अर्ब रुपैयाँ यस शिर्षकमा लगानी गरेकोमा फागुनसम्ममा करिब एक खर्बले घटेर २ खर्ब ३२ अर्ब रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षमा पनि यो कर्जा ६७ दशमलव ७ प्रतिशतले घटेको थियो ।

यस्तै राष्ट्र बैंकले चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन कार्यान्वयन गरेपनि चालु पुँजी शिर्षकमा पनि बैंकहरुको कर्जा प्रवाहमा कमी आएको छ । गत आर्थिक वर्षमा १३ दशमलव २ प्रतिशत घटेको यो कर्जा चालू आवको फागुनसम्ममा १० दशमलव ४ प्रतिशतले कमी आएको छ । फागुनसम्म बैंकहरुको चालु पुँजी शिर्षकको कर्जा ७ खर्ब ८८ अर्ब रुपैयाँमा झरेको छ ।
राष्ट्र बैंकले २०७९ कात्तिक १ कात्तिकदेखि चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन कार्यान्वयन गरेको हो ।

मार्गदर्शनमा व्यापारीक फर्म तथा कम्पनीको वार्षिक कारोबार आधारमा मात्रै चालु पूँजी कर्जा दिनुपर्ने ब्यवस्था गर्दै सिमा निर्धारण गरिएको छ । उद्योगी व्यापारीहरुले उक्त मागदर्शन खारेज गर्न माग गर्दै आन्दोलन गरेपनि राष्ट्र बैंकले फिर्ता लिएको छैन ।

चालू पुँजी कर्जा मार्गदर्शन जारीसँगै केन्द्रीय बैंकले बैंकहरुको कर्जा वर्गिकरणको शिर्षकमा समेत परिवर्तन गरी चालु सम्पत्ति धितो दृष्टिबन्धक वा धरौटी बन्धक राखी बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने नवीकरण योग्य कर्जाको बक्यौता रकम क्यास क्रेडिट कर्जा शिर्षकमा राख्नुपर्ने व्यवस्था गरेको छ । यस्तै प्राकृतिक व्यक्तिलाई प्रदान गर्ने ओभरड्राफ्ट कर्जालाई मात्र ओभरड्राफ्टमा र त्यसबाहेक व्यापारीक संस्थालाई दिएको कर्जा क्यास क्रेडिट तथा चालू पुँजी कर्जा शिर्षकमा वर्गिकरण गर्नुपर्ने व्यवस्था गरेको छ ।