साविक महालक्ष्मी लाईफले अधिकतम ५५ रूपैयाँसम्म बोनस दर दिने

119

काठमाडौं । साविक महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको नयाँ बोनस दर सार्वजनिक भएको छ । कम्पनीले आर्थिक वर्ष ०७९/८० को मुनाफामा सरिक हुने गरी अधिकतम ५५ रूपैयाँसम्मको बोनस दर निर्धारण गरेको हो । प्रभु लाइफ र महालक्ष्मी लाईफ मर्ज भई हाल प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट कारोबार भैरहेको छ । यी दुई कम्पनी एक भई असार २९ गतेदेखि एकिकृत कारोबार गरेका हुन । आगामी वर्षदेखि एकिकृत बोनस दर सार्वजनिक गर्ने भएपनि हाललाई दुई कम्पनीेले छुट्टा छुट्टै बोनस दर सार्वजनि गर्ने भएका हुन ।

साविक महालक्ष्मी लाइफले विभिन्न सात योजनाहरू लागू गरेको छ । महालक्ष्मी सावधिक जीवन बीमा योजनामा अधिकतम ५२ रूपैयाँ, महालक्ष्मी सरल जीवन बीमा योजनामा अधिकतम ५५ रूपैयाँ , महालक्ष्मी जीवन हेरचाह बीमा योजनामा अधिकतम ५१ रूपैयाँ, महालक्ष्मी बाल बचत बीमा योजनामा अधिकतम ३९ रूपैयाँ , महालक्ष्मी वार्षिक धनफिर्ता बीमा योजनामा अधिकतम ३५ रूपैयाँ, महालक्ष्मी धनधान्य बीमा योजनामा अधिकतम ३५ रूपैयाँ र महालक्ष्मी सावधिक आजीवन बीमा योजनामा अधिकतम ३५ रूपैयाँ बोनस दर निर्धारण गरेको हो ।

कम्पनीले जारी गरेको बीमालेखमध्ये महालक्ष्मी सावधिक जीवन बीमा योजना सर्वाधिक जारी भएको छ । यस योजना अन्तर्गत ५ देखि १५ वर्ष अवधिसम्मको ८ हजार बीमालेख जारी भएको हो । यसै बीमालेख अन्तर्गत ७ हजार ५३२ ओटा बीमालेख १६ देखि २५ वर्ष अवधिको लागि जारी भएको छ । सर्वाधिक बोनसदर रहेको महालक्ष्मी सरल जीवन बीमालेख भने ५ देखि १५ वर्ष अवधिका लागि ५०३ ओटा र १६ देखि २५ वर्ष अवधिका लागि १४७ ओटा जारी भएको कम्पनीले जानकारी दिएको छ । २०८० साल असार मसान्तसम्म जारी भएको बीमालेखहरू सोही वर्षको मुनाफामा सरिक हुने भनाई कम्पनीको छ ।