सहकारी क्षेत्रका अधुरा नीतिगत काम गर्न राजनीतिमा

645

सहकारी क्षेत्रमा चर्चित नाम हो ज्ञान बहादुर तामाङ, जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकमा संचालक उनी नेकपा एमालेको केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागमा सदस्य रही सहकारी क्षेत्रको विकास तथा प्रवर्धनमा क्रियाशिल छन् । संविधानले सहकारीलाई अर्थतन्त्रको आधार स्तम्भका रूपमा स्वीकार गरेपनि ऐन तथा कानुन, सरकारका नीति तथा कार्यक्रममा भने त्यस अनुसार सहकारी मैत्री बन्न नसकेको उनको गुनासो छ । सहकारी मैत्री ऐन कानुन र नीति कार्यक्रमका लागि लविङ गरेपनि आएपनि सुनुवाई नभएको भन्दै नीतिगत तहमा सहकारी क्षेत्रको उपस्थिती आवश्यक्ता देखिएको उनको बुझाइ छ । त्यसैका लागि उनी यतिबेला नेपाल कम्युनिट पार्टी (एमाले) को तर्फबाट प्रदेशसभा सदस्यको लागि समानुपातिक उमेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका छन् । नीति निर्माण गर्ने ठाउँमा पहुँच नपुग्दा सहकारी क्षेत्रका कतिपय नीतिहरु कामहरु अधुरा नै रहेको र संसद्मा पुगेर त्यसलाई सम्बोधन गर्ने उनको योजना छ । तामाङको चुनावी अभियान र भावि योजनामा केन्द्रीत रही उनीसँग अर्थटुडेले गरेको कुराकानीको सार :-

नेकपा एमालेबाट वागमती प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवार बन्नुभएको छ । सहकारी अभियानको नेतृत्वमा स्थापित व्यक्ति पार्टी राजनीतिमा सक्रिय हुनुको कारण के हो ?

देश संचालन गर्ने मुल नीति भनेकै राजनीति हो । राजनीतिक पार्टीले अबलम्बन गर्ने नीति तथा कार्यक्रमका आधारमा जनताबाट मत पाउने र त्यसकै आधारमा देश संचालन हुन्छ । अहिलेसम्म मैले सहकारी क्षेत्रको विकास, बिस्तार र प्रवद्र्धनका लागि जे जति योगदान गरे त्यसका आधारमा पनि आफ्ना योजनाहरु पुरा गर्नका लागि नीतिगत तहमै पुग्नुपर्छ भन्ने लागेर नै राजनीतिमा आएको हो । नीतिगत तहमा पुगेपछि आफ्नो भिजनलाई अघि बढाउन अझ सजिलो हुन्छ । जस्तो हिजो हामी बाहिर बसेर सहकारी मैत्री ऐन कानुन, नीति तथा कार्यक्रमका लागि लविङ, एड्भोकेसी गर्थ्यौ । त्यसमध्ये कतिपय माग सम्बोधन भए कतिपय अधुरा छन् । अधुरा कामलाई पुरा गर्नका लागि आफै नीतिगत ठाउँमा पुग्नुपर्छ भनेर नै राजनीतिमा सक्रिय भएको छुँ ।

पछिल्लो समय स्वतन्त्र उम्मेदवारी दिने बाढी आएको छ । यो अवस्थामा तपाईले नेकपा एमाले नै रोज्नुको कारण के हो ?

म पार्टीपद्धतिमा विश्वास राख्ने व्यक्ति हुँ । एक/दुई जना व्यक्ति स्वतन्त्रबाट जित्न सक्लान तर उनीहरु राजनीतिक दलको विकल्प हुन सक्दैनन् । म स्कुल पढ्दा देखि नै एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा संगठित भएर काम गरेको व्यक्ति हो । उच्च शिक्षा अध्ययनसँगै शिक्षण पेशामा लागेपछि पनि पार्टी जीवनबाट टाढा रहन सकिएन किनकि भूमिगतकालदेखि नै मेरो घर पार्टीको सेल्टरको रुपमा रहेको थियो । हाम्रो परिवारकाे माक्सवादी दर्शन र नेकपा एमाले बीचको सम्बन्ध सधैं अटुट रह्यो । म कहिल्यै कम्युनिष्टप्रतिको आस्थाबाट विचलित भइन । सहकारी अभियानमा सक्रिय भएपनि व्यक्तिगत रुपमा त कुनै न कुनै राजनीतिक पार्टीप्रति आस्था रहने नै भयो । सहकारीकर्मीका रूपमा पनि एमालेकाे केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागको सदस्यका रुपमा सक्रिय छु । पार्टीले मेरो योगदानको मूल्यांकन गरी वागमती प्रदेशसभा सदस्यमा समानुपातिक तर्फको बन्द सूचीमा राख्ने प्रस्तावलाई मैले स्वीकार गरेको हो ।

सहकारी क्षेत्रलाई अघि बढाउने पार्टीको भिजन के हो त ?

नेकपा एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा आफ्ना भिजन स्पष्ट पारेको छ । ‘सहकारीबाट व्यवसाय प्रवर्धन: नागरिकको आर्थिक उन्नयन’ नारा अघि सार्दै पार्टीले आगामी ५ वर्षभित्र सहकारीका सदस्य एक करोड र बचत परिचालन १० खर्ब रुपैयाँ योजना ल्याएको छ । अहिले सहकारीका देखिएका समस्यालाई सम्बोधन गर्ने योजना घोषणपत्रमा उल्लेख छ । सहकारी ऐनमा उल्लेख पुर्याउने भएको तर कार्यान्वयन नभएका विषयलाई पनि अगाडी बढाउने योजना छ । सहकारीलाई बिमामा आवद्ध गर्ने, सहकारी ऋण सूचना, तरलता व्यवस्थापन तथा कारोवार क्लियरिंगको व्यवस्था गरिने, बचत तथा ऋण सहकारीलाई उत्पादनमूलक क्षेत्र तथा राष्ट्रिय रूपमा ठुला आयोजनामा समेत पुँजी परिचालन गर्न मिल्ने कानुनी व्यवस्था मिलाउँदै प्रोत्साहित गर्ने योजना छ ।

नेकपा एमाले सबैभन्दा धेरै सहकारीमैत्री पार्टी हो । इतिहास हेर्नुभयो भनेपनि एमालले अर्थ मन्त्रालय सम्हालेको बेलामा सरकारको बजेट र नीति तथा कार्यक्रममा सहकारी क्षेत्रले प्राथमिकता पाएको छ । एमाले सरकारकै पालामा सहकारीको आयकर आधा घटेको हो । देश विकासका लागि सहकारी अर्थतन्त्रको एक महत्वपूर्ण खम्बा हो भन्ने संविधानको मूल मर्मलाई पार्टीले अंगिकार गरेको छ । त्यसै अनुसार हाम्रा नीति कार्यक्रमहरु अघि बढ्छन् ।

चुनावी गतिविधिमा कसरी सक्रिय हुनुहुन्छ त ?
म प्रदेशसभा सदस्यको लागि समानुपातिक उम्मेदवार भएकाले मुख्य गरी वाग्मती प्रदेशको १३ वटै जिल्ला क्षेत्र रहेपनि विशेषगरि मेरो बसाई काठमाण्डौं क्षेत्र न. ५ भएकोले यस क्षेत्रमा बढी चुनावी गतिविधिमा सक्रिय भईरहेकोछु । काठमाण्डौं क्षेत्र न. ५ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष  ईश्वर पोखरेल, ५(क) बाट नारायण सिलवाल र ५(ख) बाट नेकपा एमाले काठमाण्डौ जिल्ला पार्टी अध्यक्ष दिपक निरौलासँगै आम जनताको घरदैलोमा पुगेर जनताको गुनासो, सल्लाह सुझाव सुन्ने मत माग्ने काममा सक्रिय छुँ । यसैगरी मेरो जन्मस्थान काभ्रे जिल्ला क्षेत्र न. १ को चुनावी कार्यक्रमहरुमा पनि भ्याएसम्म सक्रिय भएको छुँ । यसैगरी म आफै रहेको भएको सहकारी क्षेत्रका कार्यक्रममा पनि सक्रिय हुनै पर्यो।
अन्त्यमा जनताले किन नेकपा एमाले नै रोज्ने ?

एमाले नेपाली जनताको मन मस्तिस्कमा स्थापित छ । कुराले मात्र होइन, कामले नै हामीले यसलाई पुष्टि गरेका छौं । एमालले सरकार संचालन गर्दा सुरु गरेका आफ्नो गाउँ आफैं बनाऔं, वृद्ध भत्ता, एकल महिला भत्ता, अपाङ्ग भत्ता र अन्य सामाजिक सुरक्षा भत्ताका कारण पनि आम जनताले एमालेलाई भुल्न सकेका छैनन् । यस्तै एमाले सरकारले नै नेपालले गुमाएको जमिन समेटेर चुच्चे नक्शा जारी गरेको छ । जसबाट नेपाल एक सार्वभौम देश हो भन्ने सन्देश विश्वलाई दिन सफल भएको छ । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीको भारतको नाकावन्दी विरुद्धको अडान, तुइन विस्थापन, रेल, सुरुङमार्गको क्षेत्रमा भएका कामका कारण जनताको मन मस्तीस्कमा एमाले स्थापित छ ।

सम्वृद्ध नेपाल, सुखी नेपालीको अवधारणा अघि सारेको एमालेसँग देशलाई अघि बढाउने योजना छन् । अहिले गठबन्धनको सरकारको नीतिका कारण देशको गिर्दो आर्थिक अवस्था देखेर जनता सचेत हुनुहुन्छ । अब फेरी एकपटक विकासको लहर सृजना गर्न तथा राष्ट्रिय स्वाधिनताको रक्षा गर्न नेकपा (एमाले) लाई बहुमतको सरकार बनाउन सक्ने गरी जनताले मत दिनुपर्छ ।