आर्थिक लाभको अडियो भेटेपछि महाप्रबन्धक ठाकुर निलम्बनमा

483

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरेको छ । ठाकुरले गैरकानुनी लाभ लिएको भन्दै सरकारले उनलाई निलम्वन गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीको हस्ताक्षर सहितको प्रेस विज्ञप्ति अनुसार ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रब्य सामग्री प्राप्त भएको पाइएपछि उनलाई सरकारले निलम्वन गरेको हो ।

केसीका अनुसार प्राप्त श्रव्य सामग्री बारे जाँचबुझ गर्न सहज होस् भन्ने हेतुले उनलाई निलम्वन गरिएको हो । उनलाई पदबाट निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई लेखी पठाइएको पनि केसीले जानकारी दिएका छन् ।

मन्त्रालयले थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत आग्रह गरिने जनाइएको छ । ठाकुर पछिल्लो दुई वर्षयता विमानस्थलको प्रमुख पदमा कार्यरत थिए ।

यसअघि ९ माघमा त्रिभुवन विमानस्थलका आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको रकमसहित पक्राउ गरेको थियो ।