वित्तिय क्षेत्रको आन्तरिक दावी जिडिपीको १२७ प्रतिशत

77

काठमाडौं । वित्तिय क्षेत्रको आन्तरिक दावी तीन बर्षमा ५८.२३ प्रतिशत विन्दुले बढेर ६८ खर्ब ५० अर्ब ३० करोड रुपैयाँ पुगेको छ । यो दावी नेपालको कुल जिडिपीको तुलनामा १२७.२९ प्रतिशत हो । २०७७ असार मसान्तमा वित्तिय क्षेत्रको आन्तरिक दावी जम्मा ४३ खर्ब २९ अर्ब १० करोड रुपैयाँ मात्र रहेकोमा २०८० असार मसान्तसम्ममा २५ खर्ब २१ अर्ब २० करोडले बढेको हो ।

आन्तरिक दावीभित्र वित्तिय क्षेत्रले सरकार र निजी क्षेत्रलाई दिएको ऋण र उनीहरुले विभिन्न क्षेत्र तथा ऋणपत्रहरुमा गरेको लगानीहरु पर्दछन् ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको वित्तिय क्षेत्र सर्वेक्षण अनुसार वित्तीय क्षेत्रको नेपाल सरकारमाथिको खुद दावी पनि तीन बर्षमा ११९.८९ प्रतिशतले बढेको छ । प्रतिवेदन अनुसार २०७७ असार मसान्तमा वित्तिय क्षेत्रको सरकारमागिको दावी ४ खर्ब ६५ अर्ब २६ करोड रहेकोमा २०८० असार मसान्तसम्ममा आइपुग्दा ५ खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँले बढेर १० खर्ब २३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । सरकारले वित्तिय क्षेत्रबाट लिएको ऋण यसमा पर्दछ ।

त्यस्तै वित्तीय क्षेत्रको सार्वजनिक गैर–वित्तीय संस्थान माथिको दावी भने तीन बर्षको अवधिमा ११.६५ प्रतिशतले घटेर २०८० असार मसान्तसम्ममा ३२ अर्ब ४४ करोडमा झरेको छ । २०७७ असार मसान्तसम्ममा वित्तिय क्षेत्रको सार्वजनिक गैर‐वित्तिय सम्पत्ति ३६ अर्ब ७२ करोड रुपैयाँ थियो ।

वित्तीय क्षेत्रको निजी क्षेत्रमाथिको दावी भने जिडिपीको १०७.७ प्रतिशतले बढी देखिएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार वित्तिय क्षेत्रको निजी क्षेत्रमाथिको दावी २०८० असार मसान्तसम्ममा ५७ खर्ब ९४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । केन्द्रिय तथ्यांक विभागका अनुसार २०८९‐८० को नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) ५३ खर्ब ८१ अर्ब ३३ करोड रुपैयाँ मात्र हो ।

त्यस्तै तीन बर्षको अवधिमा वित्तिय क्षेत्रको निजी क्षेत्र माथिको दावी ५१.४१ प्रतिशत अर्थात् १९ खर्ब ६७ अर्ब ६४ करोड रुपैयाँले बढेको छ । २०७७ असार मसान्तसम्ममा वित्तिय क्षेत्रको निजी क्षेत्र माथिको दावी जम्मा ३८ खर्ब २७ अर्ब १२ करोड रहेको थियो ।