लोडसेडिङ हुने हल्ला निराधारः मन्त्री बस्नेत

79

काठमाडाै । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले पुनः लोडसेडिङ हुने हल्ला निराधार रहेको बताएका छन् । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समिति बैठकमा बुधवार बोल्दै ऊर्जामन्त्री बस्नेतले विद्युत् खरिद सम्झौता नवीकरणको प्रक्रिया अगाडि बढेको भारतसँग छिट्टै विद्युत् खरिद सम्झौता नवीकरण हुने बताएका हुन्।

‘भारतसँग विद्युत् खरिद सम्झौता नवीकरण नहुने र नेपालमा पुनः लोडसेडिङ हुने हल्ला निराधार हो,’ उनले भने, ‘हरेक वर्ष प्रतिष्पर्धी बजारबाट बिजुली ल्याउन नवीकरण गर्नुपर्ने भएकाले सरकार त्यो प्रक्रियामा रहेको छ ।’ नवीकरण प्रक्रिया अगाडि बढेको र लोडसेडिङ हुन्छ भनेर फैलाइएको हल्ला निराधार रहेको बस्नेतले बताए ।

‘यो नियमित प्रक्रियामा प्रत्येक वर्ष खरिद सम्झौता नवीकरण हुँदै आएकाले यो वर्ष समस्या हुँदैन,’ उनले भने, ‘भारतसँग हामी निरन्तर संवादमा छौं । अब चाँडै सम्झौता नवीकरण हुन्छ ।’

विराटनगर करिडोरमा विद्युत् आपूर्तिमा समस्या रहेको भने मन्त्री बस्नेतले स्वीकार गरे । उनले भने, ‘गत वर्ष पूर्वपहाडी जिल्लामा गएको बाढी–पहिरोका कारण जलविद्युत् आयोजनाहरूमा भएको क्षतिको असर विराटनगर करिडोरमा परेको हो ।’ उनले निजी क्षेत्रमार्फत उत्पादन भएको विद्युत् प्रवाह गरेर करिडोरको माग धान्ने प्रतिबद्धता जनाए ।