अपर तामाकोशीको सेयर गैरकानुनी रुपमा कारोबार, एक कित्ताको ८०० देखि एक हजार सम्म

15915

काठमाडौं । अपर तामाकोशीको सेयर गैरकानुनी रुपमा कारोबार हुन थालेको छ । सञ्चयकर्ताको लागि मात्र भनेर बाँडफाँड गरिएको सेयर गैरकानुनी रुपमा खरिद विक्रि हुन थालेको हो ।

अपर तामाकोशीको सेयर सञ्चयकर्ता नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाल आर्मी, निजामति कर्मचारी, शिक्षक लगायत सञ्चयकोषमा रकम जम्मा गर्नेहरुले मात्र पाएका थिए ।

नाम नबताउने शर्तमा नेपाली सेनाका एक जवानले तामाकोशीको सेयर प्रतिकित्ता ८०० देखि एक हजार सम्ममा खरिद विक्रि हुने गरेको बताए । उनका अनुसार नेपाली सेनाका मेजर भन्दा माथिका व्यक्तिहरुले आफ्नो पहुँचका आधारमा जवानहरुसँग भएको सेयर गैरकानुनी रुपमा खरिद विक्रि गर्ने गरेको बताए ।

उनले भने,‘ हाकिमहरु नै आएर जवानहरुलाई भाइ तिमिलाई हामी एक कित्ताको हजार रुपैयाँ सम्म दिन्छौ हामीलाई तिम्रो नाममा रहेको अपर तामाकोशीको सेयर विक्रि गर भनेर भन्छन् ।’ हाकिमले भनेको नमान्दा धेरै दुख खेप्नुपर्ने डरले पनि जवाहरु बाध्य भएर आफ्नो नामको सेयर हाकिमहरुलाई बेच्ने गर्दछन् ।

‘सेयर खरिद विक्रि गर्दा बिश्वासको आधारमा एक कागज तयार पारिन्छ र सोही कागजमा नेपाल स्टक एक्सचेन्जमा तामाकोसीको सेयर सुचिकृत भइ कारोबारमा आएपछि तपाईको नाममा गरिदिउला भनी हस्ताक्षर गर्न लगाइन्छ र रकम दिइन्छ,’ उनले भने ।

उनले सेयर के हो भनेर नबुझ्नेहरु भने सेयर विक्रि गरेर रकम पाउँदा मख्ख पर्छन् तर सेयर बजार बारेमा बुझेकाहरु भने यसको फाइदा उठाउछन् ।

यस्तै ससस्त्र प्रहरीका एक हवल्दारका अनुसार अपर तामाकोशीको सेयर ससस्त्र प्रहरी संगठनमा पनि खुलेआम रुपमा खरिद विक्रि भइरहेको छ । अपर तामाकोशीको सेयर खरिद विक्रि गर्नेलाई हाकिमहरु नै संरक्षण गरिरहेको छन् ।

त्यसैगरी नेपाल प्रहरी निजामति कर्मचारी र शिक्षकहरुले पाएको तामाकोशीको सेयर पनि गैरकानुनी रुपमा खरिद विक्रि हुन थालेको छ । सञ्चय कोष र अपर तामाकोशीविच भएको सम्झौता अनुसार तीन बर्षसम्म सञ्चयकर्ताले पाएको सेयर विक्रि वितरण गर्न पाउने छैनन् । तर सो सम्झौता विपरित सञ्चयकर्ताले रकमको अभाव हुने वित्तिकै वा दवावमा आएर आफुँसँग भएको सेयर कागजको आधारमा विक्रि गरिरहेका छन् ।

अपर तामाकोशीको सेयर रजिष्टार्ड तथा विक्रि प्रबन्धकको रुपमा काम गरिरहेको नागरिक लगानी कोषका सूचना अधिकृत उद्धव सिलवाल भने कागजी रुपमा सेयर खरिद विक्रि गर्नु गैरकानुनी भएको बताउँछन् ।

उनले यसरी गैरकानूनी रुपमा सेयरको कारोबार गर्दा यही कानुनले समाउछ भन्ने नभएको भन्दै यदी ठगीमा मुद्धा जाहेरी दिएको खण्डमा भने प्रहरीले कारबाही गर्न सक्ने बताए ।

उनले त्यसरी सेयर विश्वासको आधारमा खरिद विक्रि गर्दा खरिद गर्ने र विक्रि गर्ने दुबैलाई जोखिम हुने बताए ।
उनले पहिले जस्तो कागजी रुपमा सेयर कारोबार नभएको जानकारी दिदै सेयरको कारोबार अब डिम्याट सिष्टममा गइसकेको बताए । उनले भने,‘अब सेयर कारोबार डिम्याट सिष्टममा कारोबार हुन्छ, अपर तामाकोशीको सेयर डिम्याट भएर आउँदा जसको नाममा सेयर परेको हो उसैको नाममा आउने हो । ’ उनले दोस्रो बजारमा किन्दा आफैले पहिलो पैसा तिरेको मानिसको किन्न नपाइने हुदा त्यसरी सेयर किन्दा किन्ने मानिसलाई बढी जोखिम रहेको बताए ।

नागरिक लगानीकोषले २०७२ जेठ २९ गते कर्मचारीकोषको सञ्चयकर्ताहरुलाई अपर तामाकोसीको सेयर बाँडफाँड गरेको थियो भने सो सेयरमा लगानी गर्ने सञ्चयकर्ताले न्युनतम ५० कित्ता सेयर पाएका थिए ।