मेहनत,इमान्दारिता र संघर्षको अर्को नाम :गोविन्द गुरुङ

26418
गोविन्द गुरुङ
प्रमुख कार्यकारी अधिकृत, सिभिल बैंक
लमजुङको भुलभुलेमा निम्नमध्यम वर्गीय परिवारमा जन्मेका गोविन्द गुरुङ सिभिल बैंकको प्रमूख कार्यकारी अधिकृत बनेर धेरै युवाहरुका लागि उदाहरणीय बनेका छन् । विद्यार्थी जीवनदेखि वाणिज्य बैंकको सिइओसम्मको यात्रामा उनले निकै उतारचढाव भोगेका छन् । नेपाल कमर्स क्याम्पसबाट एमबीए गरेका गुरुङले जीवनमा कहिल्यै पनि राम्रोसँग पढ्न पाएनन् । स्कुले जीवनमा बिहान घाँस दाउरा गरेर दिउँसो विद्यालयमा जाने गरेका उनले कलेज अध्ययनका लागि विहान कलेज गएर दिउसो जागिर खाने गरेका थिए । कुलीन परिवारका व्यक्तिहरुको मात्र पहुच भएको बाणिज्य बैंकहरुको सिइओमा निम्न मध्यमबर्गबाट उठेर सिइओ हुन्छु भन्ने कल्पना समेत गरेका थिएनन् उनले । विदेशी विश्वविद्यालयबाट डिग्री गरेकाहरुको बोलवाला भएको बाणिज्य बैंकहरुमा उनी कसरी सिइओ सम्म हुन पुगे ? उनको संघर्ष र व्यक्तिगत जीन्दगीको कथाव्यथा उनकै शव्दमा :

बाल्यकाल
मेरो पुख्यौलीघर लमजुङको भूलभूले गाविस–१ मा पर्छ । निम्न मध्यमवर्गीय मेरो परिवारमा पिता इन्डियन आर्मीमा जागिरे हुनुहुन्थ्यो । काकाकाकीलगायत अरु परिवारका सदस्य खेतीकिसानी गर्नुहुदथ्यो । सात सन्तानमध्ये म जेठो छोराको रुपमा जन्मिएँ । सात \आठ बर्षदेखि नै घाँस दाउरा गर्थेँ। बिहान उठेर जंगलमा गई घाँस काटेर ल्याउने र साढे नौ बजे खाना खाएर विद्यालय जाने मेरो रुटिन थियो । यो वातावरणले मलाई संघर्षशील हुन प्रेरित गर्यो।
सात कक्षासम्म पढ्दा देवीदास अधिकारी भन्ने गुरु हुनुहुन्थ्यो, उहाँको प्रभाव मलाई गहिरो रुपमा पर्यो । जीवनमा अनुशासित बन्नुपर्ने पाठ उहाँबाटै सिकेँ । अहिलेसम्म पनि वहाँले सिकाउनु भएको अनुशासनको पालना गरेको छु । आजसम्म जाँड रक्सी चुरोट खैनी केही पनि खाँदिन । बज्यैको काखमा हुर्किएको भएर होला धेरै ज्ञानगुनका कुराहरु सिक्ने मौका पाएँ । सानैदेखि कविता, खेलकुद, गीत–संगीतमा पनि गहिरो झुकाव थियो ।

शिक्षा
मैले शिशु कक्षादेखि सात कक्षासम्म श्री प्रभात शान्तिपूर्ण माध्यमिक विद्यालयमा पढेँ । कक्षा आठदेखि एसएलसीसम्म अमर माध्यमिक विद्यालय खुदीमा पढेँ । २०४२ सालमा एसएलसी पास गरेर काठमाडौं आएर पिपुल्स क्याम्पसमा आइकम पढ्न थालेँ । आइकम र विकम पिपुल्समा नै पढेँ । २०४९ सालमा नेपाल कमर्स क्याम्पसबाट एमबीए गरेको हुँ । पढाइमा म राम्रै विद्यार्थी थिएँ । कहिल्यै फेल हुनु परेन । विद्यालयमा हुँदा आठ र नौ कक्षामा दोस्रो भएपनि अन्य कक्षामा सधै पहिलो विद्यार्थीकै रुपमा रहेँ ।


एक जना वरिष्ठ गायिकाले मसँग युगल गीत गाउनुपर्ने थियो । मैले गीत गाउँदा गाउन नपाउँदै  ति गायीकाले हेपेको शैलीमा ‘थुलुङ दाइले पनि को कोसँग गाउन लाउनुहुन्छ’ भनेर नगाइकन गइन् । त्यसले मलाई झन् ठूलो हिनताबोध भयो ।


उद्देश्य
सानो हुँदा जीवनमा यै गर्छु, यही बन्छु भन्ने खासै उद्देश्य थिएन, परिस्थितिले जीवनलाई जताजता तान्दै लग्यो त्यस्तै उद्देश्य बन्दै गयो । सानो हुँदा देवीदास अधिकारी सरको संगतका कारण उहाँजस्तै
हुने लक्ष्य थियो । अलि ठूलो भएपछि सहिदका कथाहरु पढ्न र बुझ्न थालेपछि  सहिद बन्नुपर्छ भन्ने लाग्यो ।  पछि कलेज जीवनमा प्राध्याकपको संगतमा रहदा वहाँहरुको सादा जीवन र उच्च विचारले प्रभावित बनायो र प्रोफेसर हुने लक्ष्य भयो । २०४७ सालमा पहिलो पटक गुरुङ भाषामा गीत रेकर्ड गराएँ । त्यतिबेला मेरो गायक बन्ने लक्ष्य पनि नभएको होइन । २०५० सालमा पहिलो पटक रेडियोमा गुरुङ भाषाको समाचार वाचन गर्ने अवसर पाएँ । त्यतिबेला मैले सञ्चारकर्मी बन्ने लक्ष्य पनि लिएको थिएँ । पछि त्यो पनि तुहियो । हुदाहुदै अहिले बैंकर बनेर एउटा बाणिज्य बैंक सम्हाल्ने अबसर पाएको छु । तर मैले बैंकर बन्छु भनेर चाहिँ कहिल्यै सोचेको थिइन ।

जागिरे जीवन
मैले जीवनमा जागिरलाई भन्दा सधै पढाइलाई महत्व दिएँ । काठमाडौंमा पढ्नका लागि आएपनि हाम्रो घरायसी अवस्थालाई बुझेर मैले जागिर खोजेर आफै पढ्ने निधो गरेँ । घरमा मभन्दा मुनिका भाइबहिनीहरु ६ जना थिए । बुबाको तलवले उनीहरुलाई विद्यालय पढाउन र नुन तेल मसला र लत्ताकपडा किन्नको लागि मात्र पुग्थ्यो । एसएलसी पास गरेर आएपछि बुबाको पाँच हजार रुपैयाँ मात्र खर्च गरेको छु । अरु सबै आफैँले कमाएर खर्च गरेँ । पहाडको बसाई खेतीपातीले जीवन निर्बाहलाई मात्र ठिक्क हुने सिमित आम्दानीले छोरालाई सहरमा पढाउने आर्थिक हैसियत छदा पनि थिएन । घरबाट हुर्केको छोरालाई घरधन्दाको कामबाट फुर्सद दिलाएर सहरमा पढ्न पठाउने जुन आँट आमा बुबाले गर्नुभयो त्यो नै मेरो लागि जीवनको उल्लेख्य अबसर बन्यो । काठमाडौँ आएपछि २०४२ साल फागुनमा पकनाजोलमा रहेको मोजा फ्याक्टीमा प्रोक्यिोरमेन्ट असिष्टेन्ट (खरिदको काम गर्ने) को रुपमा मैले पहिलो जागिर खाएँ । जुनबेला म १६ बर्षमा टेकेको मात्र थिए । मेरो काम चाही मोजा बनाउदा प्रयोग हुने इलाष्टिक र धागो किन्ने काम हुन्थ्यो । विहान कलेज जाने दिउँसो काम गर्ने मासिक तलव १०० रुपैयाँ थियो ।

आइकमको पहिलो  बर्षको परीक्षामा विदा नपाएपछि त्यो जागिर छोडेँ। पढाईको लागि दोस्रो वर्षमा जागिर खोज्ने क्रममा बुद्धज्योति शिशु निकेतनमा मासिक ५०० रुपैयाँमा शिक्षकको जागिर खाएँ । त्यहाँ पनि दोस्रो बर्षको परिक्षा दिनको लागि विदा नपाएपछि छोडेँ । फेरि बिकम पढ्दा केस्मा ट्रेडर्समा मार्केटिड रिप्रेजेटिभको जागिर खाएँ । त्यहाँ मेरो तलव १५ सय रुपैयाँ पुग्यो । विनोद बक्सी नाम गरेको इन्डियन बोस थियो । उनले बिकम पहिलो बर्षको परिक्षामा पढ्नका लागि एक महिना विदा दिए । तर दोस्रो बर्षको परिक्षामा अर्का नेपाली नै हाकिम भएपनि पढ्नको लागि विदा दिएनन् र जागिर छोडेँ । त्यस्तै एमबिए पढ्नको लागि पुनः जागिर खोज्ने क्रम सुरु भयो । मेरो जेम्स स्कुल र गैडा वाइडलाइफ क्याम्प दूवैमा एकैपटक नाम निस्कियो । मैले जेम्स स्कुल रोजे किनकि त्यहाँ जागिर खाएर क्याम्पस गएर एमविए पढ्न पाउने भएँ । गैडा वाइल्ड लाइफमा ३ हजार तलव र विदेश जान पाउने अवसर भएपनि पढ्ने अवसर छुट्ने भएकोले मैले पैसा रोजिनँ पढाइलाई नै महत्व दिए । जेम्समा १७ सय रुपैयाँको चौथो जागिर गरेँ । एमबीएमा पहिलो बर्षमा एक दिन पनि कलेज गइएन । त्यतिबेला मलाई मेरा अनन्य मित्र बटुक विष्टले सहयोग गरेका थिए । दोस्रो वर्षमा कलेज गएर पढ्ने अवसर पाए र  त्रिभुवन विश्वविद्याको नेपाल कमर्स क्याम्पस, मीनभवनबाट २०४९ सालमा प्रथम श्रेणीमा एमविए पास गरेँ । २०५० सालमा रेडियो नेपालमा गुरुङ भाषाको समाचार पहिलो दिन पहिलो बुलेटिन पढ्ने एैतिहासिक मौका पनि पाएँ र जुन मेरो लागि अविष्मरणीय क्षण रह्यो ।


उहाँको प्रभाव मलाई गहिरो रुपमा पर्यो । जीवनमा अनुशासित बन्नुपर्ने पाठ उहाँबाटै सिके । अहिलेसम्म पनि अनुशाशित छुँ । आजसम्म जाँड रक्सी चुरोट खैनी केही पनि खाँदिन ।


करियरमा टर्निङ प्वाइन्ट
महिला सहकारी संस्थाबाट मेरो बैकिङ\फाइनान्सियल करियर सुरु भयो । त्यसअघि शिक्षकको रुपमा जेम्स स्कुलमा पढाए पनि म जीवनभर शिक्षक नै बन्छु भन्ने सोचेको थिइन । महिला सहकारीमा छिर्दाको पनि रमाइलो प्रसंग छ । खासमा मैले स्वावलम्बन विकास केन्द्रमा अधिकृत तहमा नाम निकालेको थिए । उपत्यका बाहिर जानुपर्ने भएकोले गइँन ।  रेडियो नेपालमा मासिक जम्मा २००० को जागीर खाएर बसेको थिए । पछि स्वावलम्बन विकास केन्द्रका कार्यकारी अध्यक्ष शंकरमान श्रेष्ठ सरले महिला सहकारी संस्थाका अध्यक्ष सरस्वती श्रेष्ठलाइ मेरो नाम सिफारिस गरिदिनु भएको रहेछ । यसरी महिला सहकारी संस्थामा जागिर खान गएँ । सो संस्थाले कृषि विकास बैंकको कालीमाटी शाखाको तत्कालिन शाखा प्रबन्धक अच्युत प्याकुरेल सरसँग बैकिङ सिक्नको लागि बन्दोबस्त मिलाइदियो । मैले उहाँ र उहाँका सहकर्मीबाट १५ दिनमा धेरै कुरा सिक्ने मौका पाए । उहाँ नै मेरो बैकिङको पहिलो गुरु हुनुहुन्छ । त्यसपछि महिला सहकारीमा खाता खोल्ने, ऋण दिने, उठाउन जाने देखि सम्पुर्ण कामहरु सिके जसले गर्दा बैंकिङ क्षेत्रमा आउन सजिलो भयो ।

बैकिङ करियर
महिला सहकारीमा काम गर्दा गर्दै मैले हिमालयन बैंकमा सिनियर अफिसरको पोष्टमा फ्री कम्पिटिसनमा नाम निकालेँ । त्यहीबाट मेरो बैकिङ करियर सुरु भयो । हिमालयन बैंकमा मैले साढे १० वर्ष काम गरे । जहाँ मैले अपरेशन अफिसरबाट सहायक शाखा प्रबन्धक, शाखा प्रबन्धक (हेटौडा\पोखरा) हुदै मुख्य शाखा कार्यालयको क्रेडिट मार्केटिङको प्रमुखको रुपमा काम गरे । त्यसपछि म तत्कालिन ग्लोबल आइएमई बैंकमा सिनियर म्यानेजर भएर गएँ । ग्लोबलमा गएको डेढ वर्षमा असिष्टेन्ट जनरल म्यानेजरमा प्रोमोसन भयो । त्यहाँ मेरो रोल चिफ विजनेश अफिसरको रहेको थियो । त्यसपछि मलाई मेगा बैंकबाट काम गर्नका लागि आफर आयो । मैले ट्रेडिसनल बैकिङ नै गर्ने भए म ग्लोबल बैंकमा नै खुसी छु तर गरिवलाई धनी बनाउने काम गर्ने हो भने आउँछु भनेको थिएँ । बैंकले हुन्छ भन्यो । म बैंकले माइक्रोफाइनान्समा लगानी गर्नुपर्छ भन्ने सोच राख्ने मान्छे । हिमालयन बैंकको हेटौडा शाखामा हुँदा छिमेकी लघुवित्तको कार्यक्रमबाट प्रभावित भएको थिएँ । माइक्रोफाइनान्सले जनताको जीवनस्तरमा प्रत्यक्ष रुपमा रुपान्तरण गरेको आफैले देखेको थिएँ । मेगा पछि सिभिल बैंकले राम्रो अवसर दियो त्यसैले म यहाँ आए ।

सञ्चारकर्मी नबन्नुको कारण
म रेडियो नेपालमा गुरुङ भाषाको समाचार पढ्थेँ । करिव डेढ वर्षजति रेडियो नेपालमा काम गर्दा त्यहाँको संस्थागत संस्कृति, काम गर्ने\गराउने तौर तरिका र समग्र संस्थागत चरित्र चित्त बुझेन र यो क्षेत्र मेरो लागि हो जस्तो लागेन । त्यसैले सञ्चारकर्मी बन्ने सपनालाइ त्यतै थाती राखेर राजीनामा दिएँ।

गायन\संगीत
पहिले देखि नै गीत संगितमा रुची भएको मान्छे हुँ । २०४७ सालमा पहिलो पटक रेडियो नेपालमा गुरुङ भाषामा गीत रेकर्ड गराएँ । यो सिर्जनशील काम भएकोले यसतर्फ आकर्षित थिएँ । मैले एकताका संगीत क्षेत्रमा नै लाग्ने सोच पनि बनाएको थिएँ। तर त्यतिबेला रेडियो नेपाल र म्युजिक नेपालमा मात्र गीत रेकर्ड हुन्थ्यो । पहिलो त त्यतिवेला संगित क्षेत्र आर्थिक हिसावले त्यति राम्रो थिएन । अर्को दुई वटा घटना छन् जसले मलाई संगितर्फ लाग्न उत्साहित गरेन । २०४९ सालमा आधुनिक गीत प्रतियोगितामा अडिसन दिएर पास भएँ । फाइनलमा ७० जना जतिमा म पनि परेको थिएँ । प्रतियोगिताभन्दा एक हप्ता अघि रिहर्सल गर्नुपर्ने थियो ।  मेरो रिहर्सलको पालोभन्दा पहिले रामकृष्ण ढकालले प्राक्टिस गर्दैथिए, त्यसपछि यमबराल प्राक्टिस गर्न गए । मलाई यम बराल र रामकृष्ण ढकालको स्वर र गायकी यति राम्रो लाग्यो कि म आफैमाथि एक खालको हिनताबोध भयो । यसैगरी मैले दोस्रो आधुनिक गीत रेकर्ड गराउने क्रममा त्यस बेलाको चर्चित संगितकार मानसिङ थुलुङको संगीत र सहदेव कोइरालाको रचनामा म र एक जना तत्कालिन वरिष्ठ गायिकासँग युगल गीत गाउनुपर्ने थियो । मैले गीत गाउन नपाउँदै ती गायिकाले हेपेको शैलीमा ‘थुलुङ दाइले पनि कोकोसँग गाउन लाउनुहुन्छ’ भनेर नगाइकन गइन् । त्यसले मलाई झन् ठूलो हिनताबोध भयो । त्यसपछि मैले यो क्षेत्र मेरो लागि होइन रहेछ  भन्ने सोचेर त्यसतर्फ लागिनँ ।


अहिलेको ठूलो चुनौति भनेको प्रतिष्पर्धी बजारमा विजनेश बढाउनु नै हो । अरुसँगै हिडेर उनीहरुको भन्दा बढी नाफा कमाउनु पर्नेछ ।


सिइओ भएपछिका चुनौती
बैकिङ क्षेत्रमा धेरै चुनौतिहरु छन् । हाम्रा आफ्नै चुनौतीहरु पनि छन् । यस बैंकमा पनि धेरै चुनौतीहरु रहेका छन् । मर्जर र अन्य कारणले पनि यस बैंकमा चुनौती रहेको छ ।  मर्ज गरेर पुँजी त बढाइयो तर साथमा सेयरहाल्डरहरुलाइ बढेको पुँजीमा उचित प्रतिफल दिनु पर्ने र त्यसको लागि सोही अनुपातमा विजनेश बढाउनु पर्ने अत्यन्त ठुलो चुनौती छ । अहिलेको ठूलो चुनौती भनेको प्रतिष्पर्धी बजारमा विजनेश बढाउनु नै हो । अरुसँगै हिडेँर उनीहरुको भन्दा बढी नाफा कमाउनु पर्नेछ । पुँजी पुर्याउने दवावबाट भने हामी मुक्त हुँदैछौ । हाल बैंकको पुँजी ५ अर्ब १८ करोड छ । मर्जरबाट आएको क्यापिटल रिजर्भ ५६ करोडको हाराहारीमा छ । ४० प्रतिशत राइट सेयर जारी गर्दा ७ अर्ब २६ करोड हुन्छ र बाँकी क्यापिटल रिजर्भ र गतसालको नाफाबाट बोनस सेयर दिदा ८ अर्ब पुग्छ ।

अन्त्यमा,
समस्या र चुनौतीसँगै समाधान पनि आउँछ भन्ने कुरामा म सधै विश्वास गर्दछु । साच्चै नै चुनौतीको सामना बिना जीवनका पाइलाहरु अघि बढ्न पनि सक्तैनन् । गन्तव्यमा पुग्ने लक्ष्य सहित निरन्तर क्रियाशीलताले व्यक्तिको जीवनमा सफलता पाउँछ भन्ने मलाई लाग्छ । त्यसैगरी संस्थामा आवद्द व्यक्ति व्यक्तिका प्रयासबाट सामूहिक वल प्राप्त गर्दे अघिबढेमा संस्थागत सफलता पनि प्राप्त हुन्छ भन्ने विश्वास छ ।