अभियानसँग जोडिएका सहकारीमा समस्या छैन, ढुक्क भएर कारोबार गर्नुहोस्

1853

ज्ञान बहादुर तामाङ
संचालक, राष्ट्रिय सहकारी बैंक
अध्यक्ष, जिल्ला सहकारी संघ काठमाडौं

सहकारी क्षेत्रमा समस्या आइरहेका छन् । एकपछि अर्को सहकारीहरु तरलता अभावका कारण समस्यामा परिरहेका छन् । कडा नियमन र अनुगमन र सुपरिवेक्षणको अभावमा सहकारी संस्थाहरु समस्यामा परेको विश्लेषकहरुको भनाई रहेको छ । सरकारले कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधिकरण र सहकारी प्रबद्र्धन कोषको समयमा नै व्यवस्था नहुँदा पनि सहकारीहरु समस्यामा परेका छन् । कर्जा प्रयोग गरेका ऋणीहरुले समयमा ऋण तिर्न नसक्दाको परिणाम सहकारीमा देखिएको छ । सहकारीमा देखिएको समस्या र सहकारी अभियानको भुमिकाकाे विषयमा जिल्ला सहकारी संघ लिमिटेड काठमाडाैंका अध्यक्ष ज्ञानबहादुर तामाङसँगको कुराकानीको सारांश :

पछिल्लो समयमा तरलता अभावले सहकारी संस्थाहरुले सदस्यको बचत फिर्ता गर्न सकेनन् भन्ने किसिमका समाचारहरु आइरहेका छन् । अवस्था के हो ?

अहिलेको समस्या सहकारीको मात्र होइन । कोभिड–१९ को महामारी, त्यसपछि विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीले नेपालमा पनि अछुतो छैन । आर्थिक गतिविधि सुस्ताएपछि बैंक तथा वित्तीय संस्थामा पनि तरलता अभाव भयो । बैंकहरुले कर्जा प्रवाह बन्द गरे । त्यसपछि बजारमा नगद प्रवाह कम भएपछि सहकारीमा पनि तरलता अभाव हुन थालेको हो ।

तर सहकारी संस्थाहरुले सदस्यको बचत नै फिर्ता दिन सकेनन् भन्ने हल्लामा सत्यता छैन । केहि सहकारी जो नियम विपरित चलेका छैनन्, सहकारी अभियानको नेटवर्कमा छैनन् त्यस्ता संस्थामा समस्या देखिंदा समग्रमा सहकारीप्रति नकारात्मक धारणा फैलिएको छ । सर्वसाधारणहरु आत्तिएर बचत फिर्ता माग्न जाँदा समस्या भएको छ । किनकी एकैपटक धेरैले फिर्ता माग्ने हो भने ठूलो बैंकले पनि सक्दैन । किनकी बैंक, वित्तीय संस्था तथा सहकारीहरुले बचत रकमबाट निश्चित रकम तरलता राखेर अरु लगानी गरेको हुन्छ । यो बेला सहकारीमा देखिएका समस्यालाई हामी मिहिन ढंगले अवलोकन गरिरहेका छौं । समस्यामा परेका सहकारीहरुको बारेमा पनि अभियानले अध्ययन, अनुसन्धान र विश्लेषण गरिरहेका छौं । संस्थाहरुमा अहिलेको बजारको अवस्थाका कारण अप्ठेरोमा परेको छ त्यसलाई सरकार र अभियानले सहयोग गर्नुपर्छ । त्यस्ता संस्थाहरुलाई सहयोग गर्न हामी क्रियाशिल छौं ।

यो अवस्थामा तपाईहरुले के गरिरहनु भएको छ ?

सहकारी अभियानका संघ तथा बैंकहरुले आ आफ्नो जिम्मेवारी अनुसारको भूमिका निर्वाहा गरिरहेका छौं । महासंघ सहित राष्ट्रिय सहकारी बैंक, विभिन्न सहकारी केन्द्रिय संघ, प्रदेश संघ र उपत्यकाका ४ वटा जिल्ला संघहरुले संयुक्त अपिल जारी गरेर संस्थाहरुलाई यो अवस्थामा कसरी संचालन गर्ने भनेर मार्गदर्शन गरेका छौं । अप्ठेरोमा परेका संस्थालाई सहयोग र सहकार्य गर्न महासंघमा संयन्त्र पनि बनेको छ । जिल्ला संघले छुट्टै विज्ञप्ती जारी गरेर संस्थाहरु र सदस्यहरुलाई संयमित हुन आग्रह गरेका छौं ।  तरलता अभावका कारण संस्थाहरुलाई अप्ठेरो परेमा सहयोग गर्नलाई राष्ट्रिय सहकारी बैंकमा छुट्टै कोष बनाएका छौं । यस्तै सबै प्रदेशको संयोजक सम्मिलित छुट्टै समिति बनाएका छौं । कुनै संस्थालाई अप्ठेरो परेको छ भने हामी त्यो संस्थालाई सहजिकरण गर्न तयार छौं । सहकारी सदस्यहरुको संस्था हो । प्रारम्भिकदेखि राष्ट्रिय महासंघसम्म यसको बलियो नेटवर्क छ । अहिले एकाध संस्थामा समस्या देखिदैमा यो अभियान कमजोर हुदैन । अहिलेको समस्या समाधानका लागि सबै तह र तप्काका साथीहरुले आ आफ्नो भूमिका र जिम्मेवारी अनुसार काम गर्न आवश्यक छ ।

सहकारी अभियान यति बलियो छ भन्दैगर्दा सहकारी संस्थाको अवस्था भद्रगोल हुनुको दोष अभियानलाई पनि त जाला नि ?

अहिलेसम्म जति पनि सहकारीहरु समस्याग्रस्त भएका छन्, ति सहकारीहरु अभियानसँग जोडिएका थिएनन् । गौतमश्री, सिभिल सहकारीहरुलाई नै हेर्नुहोस् न । उनीहरु अभियानसँग जोडिएका थिएनन् । अभियानसँग जोडिएका कुनैपनि सहकारीहरु डुवेका छैनन् र अभियानले डुव्न पनि दिदैन । अभियानमा जोडिएका सहकारीहरुलाई अभियानले सहकारी शिक्षा, व्यवहारिक ज्ञान, समय समयमा व्यवस्थापकहरुलाई सहकारीको मुल्य, मान्यता र सिद्धान्तको बारेमा तालिम गोष्ठीहरुको आयोजना गरिरहेको हुन्छ । अर्कोतर्फ अभियानले सहकारी सदस्यहरुलाई पनि सहकारी शिक्षा दिने र ऐन, नियम र कानुनको बारेमा पुर्ण जानकारी दिने गरिएको छ । जसका कारण अभियानसँग जोडिएका सहकारीहरु मुल्य र मान्यता भन्दा बाहिर नजाने हुदा समस्यामा पर्दैनन् । हामीले सहकारी दर्ता पनि गर्दैन, अनुगमन तथा कारवाहीको अधिकार पनि छैन । सहकारी सिद्धान्तको प्रवद्र्धन गर्ने भूमिका संघहरुले निर्वाह गरिरहेकै छौं । बजारमा भइरहेका गलत प्राक्टिसलाई सुधार गर्न सरकारलाई पटक पटक घच्घच्याएका छौं ।

केहीदिन अघिमात्र राष्ट्रिय सहकारी महासंघमार्फत एक पटकमा पाँच प्रतिशत रकम मात्र भुक्तानी दिने भनेर विज्ञप्ति जारी भएपछि झन् सहकारी क्षेत्रमा समस्या रहेछ भनेर पुष्टी नै गर्यो नि ?

उक्त अपिलको मतलव सहकारी क्षेत्रमा समस्या भएर पाँच प्रतिशत रकम मात्र भुक्तानी गर्ने भनेको होइन । सहकारी संस्थाहरुले बढीमा २० प्रतिशत तरलता राख्नुपर्छ । हामीले सहकारी अभियानसँग आवद्ध भएका वा नभएका संस्थाको हकमा पनि अहिले आफ्नो संस्थाको अवस्थालाई हेरि सदस्यहरुसँगको आपसी समझदारीमा एक पटकमा पाँच प्रतिशत भन्दा बढी बचत फिर्ता नदिन आग्रह गरेका हांै । सदस्यहरुले पनि आफ्नो संस्थाको हितलाई सोचेर कार्य गर्नु पर्ने कुरा हो । हामीले यसलाई फोर्स गरेका होइनौ । सवैजनाले एकैपटक बचत फिर्ता माग्न आउदा त बैंकले पनि दिन सक्दैन । त्यसैले सदस्यहरुले बचत फिर्ता लिन आउदा मुद्धति निक्षेपको म्याचुअर्ड भएपछि मात्र आउने, आफूलाई साच्चिकै समस्या पर्दा मात्र रकम लिन आउने हो भने सहकारीहरुले मज्जाले रकम फिर्ता गर्न सक्छन् । त्यसो हुँदा कोही पनि सदस्यले रकम फिर्ता नपाउने भन्ने हुदैन । ढुक्क भएर आफु सदस्य भएको सहकारीलाई विश्वास गरेर थप मजवुत गराउनतिर सदस्यहरु पनि लाग्न आवश्यक छ ।

यस्तो बेलामा त सहकारी अभियानले रेस्क्युका लागि कदम चाल्नु पर्ने होइन ?

सहकारी सम्बन्धि नकारात्मक समाचारहरु मात्र आउँदा सहकारी चलाउने संचालकहरुको मनोवल गिर्नु स्वाभाविक नै हो । यस्को मतलब सबै सहकारी संस्थामा समस्या छन् भन्ने हैन । सवैतिर नकारात्मक समाचार आएको हुदा राम्रो अवस्थामा संचालन भैरहेको संस्थाहरुमा पनि समस्या हुन्छ भन्ने डर छ । हामीले समस्यामा परेका सहकारीहरुको रेस्क्यु गर्नेछौं । जो अभियानसँग जोडिएका छन् त्यस्ता सहकारी संस्थाहरुको नियत ठगी गर्ने र भाग्ने छैन । उनीहरुले पनि बचतकर्ताबाट उठाएको बचत रकम सदस्यहरुलाई ऋण लगानीमा परिचालन गरेका छन् । लगानी गरेकाे रकम उठेपछि विस्तारै बचत फिर्ता गर्दै जान्छन् । हामीले पनि सोही अनुसारको वातावरण बनाउने प्रयास गरिरहेका छौं । हामीले समय समयमा बचतकर्ताहरुलाई विज्ञप्ति मार्फत नआत्तिन आग्रह गरिरहेका छौं । सदस्य र संचालकहरुसँग पनि अन्तक्र्रिया गरिरहेका छौं । नियमनकारी निकायसँग पनि सरसल्लाह गरिरहेका छौं ।

सहकारीमा यस्तो समस्या आउनुको मुख्य कारण के हो ?

सवै सहकारीमा समस्या आएको छैन । केही सहकारीमा मात्र समस्या आएको हो अहिलेसम्म समस्यामा परेका जतिपनि सहकारी छन् ति सहकारीमा कुनैमा मोनोपोली रहेको देखिन्छ भने कसैको परिवारवाद हावी भएको देखिएको छ । यसो हुदा मनलाग्दी ठाउँमा ऋण प्रबाह हुने र उठाउन नसक्दा सहकारी डुव्ने खतरा देखिएको छ । त्यही भएर अभियानले कानुनतः खोलिएको सहकारीहरु अभियानसँग जोडिन आग्रह गरेको हो । अभियानमा जोडिएसँगै सम्बन्धीत जिल्ला संघ, विषयगत संघहरुले सहकारी सम्बन्धी तालिम, गोष्ठीहरुको आयोजना गरेर सहकारीलाई सदस्य केन्द्रित हुन सिकाउने गरेको छ । म फेरी पनि भन्छु अभियानसँग जोडिएका सहकारीहरुको हकमा कुनै समस्या छैन ।

सहकारीमा बचत भन्दा पनि ऋण प्रबाह बढी भएको र यही कारण समस्यामा परेका हुन् भन्ने विश्लेषण पनि देखिएको छ नी ?
पहिलो कुरा सहकारी र बैंक फरक हुन् । बैंकमा जस्तो सहकारीमा सिडि रेसियो (निक्षेप कर्जा अनुपात) राख्ने प्रचलन छैन । सहकारी संस्थामा सेयरपुँजीका साथै जगेडा कोष लगायतका अन्य कोषहरुमा पनि रकम हुने भएकाले त्यसबाट पनि कर्जा प्रबाह हुने गरेको छ ।

जो अभियानसँग जोडिएका छन् त्यस्ता सहकारी संस्थाहरुको नियत ठगी गर्ने र भाग्ने छैन । उनीहरुले पनि बचतकर्ताबाट उठाएको बचत रकम सदस्यहरुलाई ऋण लगानीमा परिचालन गरेका छन् ।

समस्या समाधानका लागि के गर्नुपर्ला ?

पहिलो कुरा सरकारी नियकायबाट (संघ, प्रदेश र स्थानिय सरकार) सहकारीहरुको नयाँ सस्था दर्तालाई रोक्नुपर्छ । पछिल्लो समयमा जथाभावी रुपमा सरकारका तीनवटै निकायले नयाँ सहकारी दर्ता गरेका छन् । तर त्यसको सही अनुगमन र नियमन भएको छैन । त्यस्तै अर्को कुरा दर्ता भएका सहकारीहरुलाई मर्ज गरेर थोरै बनाउनतिर पनि सोच्नुपर्छ । अहिलेको अवस्थामा बिग मर्जरलाई राज्यले प्रोतसाहन गर्न सकेमा सहकारी संस्थाहरु सहित अभियान नै बलियो हुँदै जान्छ । यसका लागि तीनवटै तहका सरकारले के कस्ता सहुलियत दिन सक्छ दिनुपर्छ ।  त्यस्तैगरी विभिन्न सहकारी संस्थाहरुले अनाधिकृत रुपमा सेवाकेन्द्र खोल्ने र कार्यक्षेत्र विस्तार गर्ने कामलाई तत्काल रोक्नुपर्छ । पछिल्लो समयमा सहकारी क्षेत्रमा विकृति भित्रिएकै यही कारणले हो । अर्को कुरा अभियानमा जोडिएका सहकारी संस्थाहरुको लागि जिल्ला, प्रदेश र विषयगत संघहरुले पनि संस्थालाई सदस्य केन्द्रित हुनका लागि तालिम र शिक्षालाई विशेष जोड दिनुपर्छ भने संस्थाले पनि सदस्यहरुलाई आफ्नो दायित्वप्रति जिम्मेवार रहनका लागि चेतनामुलक कार्यक्रमहरु प्रदान गर्नुपर्छ ।

अन्त्यमा, सहकारी संस्था र सदस्यहरुलाई के भन्न चाहनुहुन्छ ?

पछिल्लो समयमा विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीको असर नेपाली अर्थतन्त्रमा पनि परेको छ । समग्र अर्थतन्त्रमा असर परेपछि सहकारी क्षेत्रलाई नछुने भन्ने कुरै हुदैन । त्यसैले सहकारीका सदस्यहरुलाई अहिले भएको आर्थिक मन्दीको असरलाई मध्यनजर राख्दै संयमित हुनका लागि आग्रह गर्दछु । साथै सहकारी अभियानले पनि सदस्यहरुलाई भयरहित भएर सहकारी क्षेत्रमा कारोबार गर्ने वातावरण मिलाउनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता समेत जनाउन चाहन्छु । सदस्यहरुमा ढुक्क भएर आफ्नो संस्थासँग कारोबार गर्न आग्रह गर्दछु । साथै संस्थाहरुले पनि आफ्ना सदस्यहरुलाई कन्भिन्स गर्ने, सकेको जति बचत फिर्ता दिने र उनीहरुको बचत फिर्ताको सुनिश्चितता प्रदान गर्नुपर्छ । त्यसैले संस्थाहरुलाई पनि सोको वातावरण मिलाउन आग्रह गर्दछु । यस्तै नियामक निकाय सहकारी विभागलाई पनि अनुगमन, नियमन र सुपरिवेक्षणका लागि संघसँग सहकार्य गर्नुहुन आग्रह गर्दै संघले जतिवेला पनि विभागलाई सहयोग गर्न तत्पर छ भन्न चाहन्छु ।