सरकारले भुकम्प पिडितको उद्धारको लागि छुट्यायो १० करोड, राहत तथा उद्धार एकद्धार प्रणालीबाट गर्ने निर्णय

236

काठमाडौं। सरकारले भुकम्प प्रभावित दुई जिल्लामा १० करोड रुपैयाँ पठाउने निर्णय गरेको छ । जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितको खोज÷उद्धार र राहतका लागि सो रकम पठाउन लागिएको हो । शनिवार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको बसेको बैठकले दुवै जिल्लामा प्रति जिल्ला ५ करोडका दरले रकम पठाउने निर्णय गरेको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी सो रकम दिने निर्णय भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी सोही बैठकले खोज, उद्धार र राहतका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत एकद्वार प्रणाली अवलम्बन गर्ने निर्णय पनि गरेको छ। सहयोग गर्ने सबै व्यक्ति तथा निकायहरुले सोही संयन्त्रसँग समन्वय गरी सहयोग गर्ने व्यवस्था मिलाइने निर्णय पनि गरेको हो ।

गृहमन्त्रालयले विगतमा सहयोगको नाममा विभिन्न संघ संस्थाले मनपरी रुपमा सहयोग लैजादा उल्टै पिडितलाई थप पिडा बनाइएकोले यसपाली भने सहयोग एकद्धार प्रणालीबाट वितरण गरिने पनि जानकारी दिएको छ । प्रदेश सरकारदेखि विभिन्न संघसंस्थाले सहयोग रकम घोषणा गर्न थालेपछि सरकारले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत मात्र खर्च गर्ने निर्णय गरेको हो। राहत रकम दुरुपयोग हुन नदिन एकद्वार प्रणाली अवलम्बन गर्ने निर्णय गरेको हो ।