सरकार परिवर्तनको कुराले बढ्यो बजार, तीन पटक सकारात्मक सर्किट लागेर बन्द

83

काठमाडौं । सरकार परिवर्तन हुने भएपनि सेयर बजार सोमबार तीन पटक सकारात्मक सर्किट लागेर बन्द भएको छ ।समय अगावै तीन पटक सम्म सकारात्मक सकिर्टक लागेपछि बजार बन्द भएको हो । करिव तीन महिनापछि पहिलो पटक सेयर बजारमा सकारात्मक सर्किट लागेको हो । यसदिन सेयर बजार परिसूचक नेप्से ११७.७० अंकले बढेर २०७८ विन्दुमा पुगेको छ ।

म्युचअल फण्डबाहेक सबै उपसमूहका सूचक बढेर सर्किट लागेको हो । बजार खुलेको ३ मिनेटमै ४ प्रतिशतले बढेको कारोबारमा यसअघि दुई पटक सकारात्मक सर्किट लागेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यस दिन बजारमा कुल ५ मिनेट कारोबार भएको हो। बजार खुलेको ३ मिनेट ३० सेकेण्डमा नै नेप्से परिसूचक ४ प्रतिशत बढेपछि बजार २० मिनेटको लागि स्थिगित भएको थियो । सोपश्चात खुलेको बजार १ मिनेट नै नबित्दै ५ प्रतिशत बढेपछि ४० मिनेटको लागि कारोबार स्थिगित भएको थियो। त्यसपछि १२ बजेर ४ मिनेटमा खुलेको बजार १ मिनेटमा नै तेस्रो सर्किट लागेर यस दिनको लागि बन्द भएको हो।

यस दिन २३७ स्टकको ३ हजार ८६३ पटकको कारोबारमा ३७ करोड ५२ लाख ९ हजार रुपैयाँ बराबरको ९ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन १२ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमध्ये अधिकांश जलविद्युत कम्पनीहरु रहेका छन्। यस दिन ५ स्टकको मात्र मूल्य घटेको छ। १३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ।