सेवोन अध्यक्षको दौडमा १९ जना सामेल, कसले मार्ला बाजी ?

330

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन)को अध्यक्ष पदको दौडमा १९ जनाले भाग लिएका छन् । गत पुस २० गते तत्कालिन अध्यक्ष रमेश हमालको अवधि सकिएपछि रिक्त रहेको अध्यक्ष पदमा १९ जनाले आवेदन दिएका छन् । अध्यक्षको लागि आवेदन दिने म्याद बुधबार ५ बजेसम्म रहेको थियो । अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा उनीहरुले आवेदन बुझाएका छन् ।

अध्यक्षको लागि आवेदन दिनेमा नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर शिवराज श्रेष्ठ, बोर्डका निमित्त प्रमुख डा.नवराज अधिकारी, कार्यकारी निर्देशक कृष्णराज पोख्रेल, कार्यकारी निर्देशन मुक्तिनाथ श्रेष्ठ रहेका छन् ।

त्यस्तै तत्कालिन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल बैंकका पूर्व सीईओ कृष्ण बहादुर अधिकारी, नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर कार्की, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, बोर्डका पूर्व कार्यकारी निर्देशक नीरज गिरी पनि रहेका छन् । त्यसैगरी डा. केशब प्रसाद श्रेष्ठ, सेयर बजार विष्लेषक मुक्ति अर्याल, नेप्सेका पूर्व सीईओ सिताराम थपलिया, बिमल तिवारी, बैदेशिक रोजगार प्रबद्र्धन बोर्डका पुर्व कार्यकारी निर्देशक रघु काफ्ले लगायतले आवेदन दिएका छन् ।

आवेदन परेकामध्ये पुर्व डेपुटी गभर्नर श्रेष्ठ, नेप्सेका पुर्व सिइओ थपलिया, राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्ट,बोर्डका पुर्व कार्यकारी निर्देशक गिरी नेपाली कांग्रेस निकट मानिन्छन् । त्यस्तै बीमा समितिका पुर्व अध्यक्ष चापागाई नेकपा माओवादीका तत्कालिन अर्थमन्त्री कृष्ण बहादुर महरा निकट मानिन्छ ।

सरकारले गठन गरेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको संयोजकत्वमा रहेको सिफारिस समितिले गत फागुन १६ गते धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो ।
आवेदन दिने मध्येबाट पाँच जना छनौट गरी उनीहरुको प्रस्तुतीकरण पश्चात् समितिले तीनजनाको नाम सिफारिस गरी मन्त्रीपरिषद्मा पेश गर्नेछ । मन्त्रीपरिषद् बैठकले एक जनालाई अध्यक्ष नियुक्ती दिनेछ ।