माघदेखि वैदेशिक ब्यापारमा लगातार सुधार

51

काठमाडौं । चालू आर्थिक वर्षको फागुन महिनामा देशको वैदेशिक ब्यापारमा सुधार देखिएको छ । भन्सार विभागले मंगलबार प्रकाशित गरेको तथ्यांक अनुसार फागुनमा आयात तथा निर्यात बढ्दा बैदेशिक ब्यापारमा सुधार देखिएको हो ।

भन्सार विभागका अनुसार चालू आवको फागुनमा १ खर्ब ३२ अर्ब २७ करोड रुपैयाँ बराबरको सामान आयात तथा १३ अर्ब ७८ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । माघको तुलनामा साढे २ अर्ब रुपैयाँले आयात बढ्दा निर्यात भने २ अर्ब रुपैयाँले निर्यात बढेको छ ।

फागुन महिनाको आयात तथा निर्यात चालू आवमा असोजपछि सबैभन्दा बढी हो । असोजमा एक खर्ब ४८ अर्ब रुपैयाँ बराबरको आयात र १४ अर्ब ४२ करोडको निर्यात भएको थियो ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षको फागुनसम्ममा १० खर्ब ५८ अर्ब रुपैयाँ बराबरको सामान आयात भएकोमा चालू आवको यसै अवधिमा २ दशमलव ६६ प्रतिशतले कमी आई १० खर्ब ३० अर्ब रुपैयाँ बराबरको मात्र आयात भएको छ । यसैगरी गत आवको फागुनसम्ममा एक खर्ब ४ अर्ब बराबरको सामान निर्यात भएकोमा चालू आवमा भने एक खर्बको मात्र निर्यात भएको भन्सार विभागले जनाएको छ ।

गत आर्थिक वर्षको फागुनसम्ममा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ बराबरको ब्यापार घाटा भएकोमा यस वर्ष ९ खर्ब २९ अर्ब रुपैयाँ मात्र घाटा भएको विभागको तथ्यांकमा उल्लेख छ । चालू आवको फागुनसम्ममा भन्सारबाट सरकारले २ खर्ब ७० अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ ।