सहकारी दिवसका लागि ‘सहकारीमा सुशासनः प्रविधि र एकीकरण’ नारा तय

106

काठमाडौं । सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी महासंघले यस बर्षको सहकारी दिवसका लागि नारा तय गरेको छ । महासंघले मंगलबार सामाजिक संजालमार्फत ६७ औं राष्ट्रिय सहकारी दिवसका लागि ‘सहकारीमा सुशासन : प्रविधि र एकीकरण’ नारा सार्वजनिक गरेको हो ।

नेपालमा पहिलो सहकारी स्थापनाको दिन अर्थात चैत २० गतेलाई राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउने प्रचलन छ । उक्त दिवसलाई मध्यनजर गर्दै महासंघले नारा तय गर्दै आएको छ । उक्त नारामा केन्द्रीत रहि वर्षभरी सहकारीका कार्यक्रमहरु तय गर्ने प्रचलन रही आएको छ ।

सहकारी महासंघले हालै मात्र प्रथम सहकारी डिजिटल कन्क्लेभ आयोजना गरेको थियो । यस्तै महासंघले सहकारी भिजन २०३० मार्फत सन् २०३० सम्ममा सहकारीको संख्या एकीकरण मार्फत १० हजारमा झार्ने र सहकारी संघ/संस्थालाई पूर्ण रुपमा डिजिटाइजेशन गर्ने लक्ष्य बनाएको छ । सोही भिजनलाई केन्द्रीत गरी महासंघले दिवसका लागि नारा तय गरेको हो ।