सहकारीका संघहरुमा तरलता थुप्रियो : राम्रा संस्थाले ऋण लादैनन्, नराम्रालाई दिन सकिदैन

324

काठमाडौं । बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाहरु सदस्यहरुको बचत नै फिर्ता गर्न नसक्ने अवस्था हुँदा तिनै संस्थासँग होलसेल कारोबार गर्ने संघहरुमा भने तरलता थुप्रिन थालेको छ । संघहरुबाट ऋण लिएर लगानी गर्ने सहरी क्षेत्रका संस्थाहरु धमाधम समस्यामा पर्न थालेपछि तरलता थुप्रिन थालेको हो ।

प्रकाशित मासिक वित्तीय विवरण अनुसार फागुन महिनामा सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकमा तरलताको अनुपात ४३.२६ प्रतिशत पुगेको छ । एक वर्षअघिसम्म १८ प्रतिशत हाराहारीमा मात्र तरलता अनुपात रहेको थियो ।

यसैगरी बचत तथा ऋण सहकारीहरुको केन्द्रीय छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा पनि फागुन मसान्तमा ३४.७९ प्रतिशत तरलता अनुपात कायम भएको छ । पछिल्लो समय निक्षेप बढ्दै गएपनि सोही अनुसार लगानी गर्न नसक्दा तरलता अधिक भएको हो । सार्वजनिक रुपमा मासिक वित्तीय विवरण सार्वजनिक नगरेपनि बचत तथा ऋणका प्रदेश र जिल्ला संघहरुमा समेत अधिक तरलताको अवस्था छ ।

पछिल्लो समय बैक वित्तीय संस्थामा निक्षेप बढेसँगै सहकारी संस्थाहरुमा पनि बचत बढ्ने क्रममा छ । तर, संस्थाहरुको कर्जा प्रवाह सुस्त हुँदा तरलता थुप्रिएको छ ।

तरलता अभावसँगै बचतको ब्याज बढाएपछि कर्जा पनि महंगो भएको छ । जसका कारण नयाँ कर्जा प्रवाह हुन सकिरहेको छैन । यस्तै पछिल्लो समय ऋण नतिर्ने प्रवृत्ती बढेका कारण पनि लगानी गर्न डराइरहेका छन् ।

बैंकहरुले ब्याज घटाउन थालेपनि सहकारी संस्थाहरुले पनि बढी ब्याज पाउने आशमा सहकारीका केन्द्रीय संघहरुमा निक्षेप राख्न थालेका हुन् । तर, संघहरुले त्यो निक्षेपलाई परिचालन गर्न सकेका छैनन् ।

‘राम्रा संस्थाले ऋण लादैनन्, नराम्रालाई दिन सकिदैन’ एक संघका ब्यवस्थापकले भने, ‘यो अवस्थामा हामीलाई तरलता व्यवस्थापन नै चूनौतिपूर्ण भएको छ ।’ यसअघि बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेप राखेर तरलता व्यवस्थापन गर्दै आएको भएपनि उनीहरुले ब्याज घटाएपछि समस्या भएको उनले गुनासो गरे ।

सहकारीमा प्रचलनमा रहेको पल्स मनिटरिङ सिस्टमले १५ प्रतिशत भन्दा बढि तरलता हुनुपर्छ भनेको छ । यस्तै नियामक निकायहरुले १० देखि १५ प्रतिशतसम्म तरलता राख्न निर्देशन दिदै आएका छन । तर, संघहरुमा भने आवश्यक्ता भन्दा बढी तरलता देखिएको छ ।

तरलता बढी हुँदा संघहरुको आम्दानी पनि घट्दै गएको छ । उच्च ब्याजमा उठाएको निक्षेप त्यतिकै राख्नुपर्दा आगामी वर्ष संघहरुको नाफा अझै घट्ने ती व्यवस्थापक बताउछन् ।