वि.सं. २०८१ मंसिर १७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालको पहिलो सहकारी संग्रहालय बन्दै

अर्थटुडे
२०७१ जेष्ठ १८, आईतवार

काठमाडौँ । मुलकुभर ५७ औं सहकारी दिवस मनाईरहदा पहिलो सहकारी बखान बहुउद्देश्यीय सहकारीका संचालक र सदस्यहरु भने संस्था परिसरमै धर्नामा बसे । उद्देश्य थियो बखान सहकारीमा बहुउद्देश्यीय भवन सहितको सग्रहालय निर्माण ।

तत्कालिन राजनीतिक व्यवस्थाका कारण लामो समयसम्म निश्कृय रही पुनः सक्रिय भएको संस्था आफ्नो एतिहासिकता जोगाउन सग्रहालय निर्माण गर्ने योजना बोकेर आएको छ । अहिले देशभरका सहकारी संस्था भ्रमणमा पुग्ने बखानमा तिनै सहकारीकर्मीलाई लक्षित गरी पुराना सामाग्री सग्रह गरी सग्रहालय निर्माण गर्ने योजनामा जुटेको छ । उनीहरुले बनाएको बहउद्देश्यीय भवनमा पुराना सामाग्रीको सग्रहालय, टेनिङ सेन्टर, सहकारी पुस्तकालय, गेष्ट हाउसलगायतका योजना रहेका छन् ।

चितवनको शारदानगर गाविस नेपालकै पहिलो सहकारीका रुपमा बखानपुरमा २०१३ साल चैत २० गते खुलेको संस्थाको एतिहासिक महत्व छ । यही सहकारी इतिहास भावी पुस्ताका लागि सुरक्षित गर्नकै लागि बखानपुरमा नेपालकै पहिलो सहकारी सग्रहालय बन्न योजना अघि सरेको हो । दुई वर्ष राष्ट्रिय सहकारी संघको सहयोगमा भवन निर्माण गरेको संस्थाले आफ्नो एतिहासीक धरोहरलाई जोगाउनका लागि सग्रहालय बनाउने तयारीमा जुटेको हो ।

“सहकारीको इतिहास जोगाउनका लागि बखानपुरमा सहकारी सग्रहालय आवश्यक छ” संस्थाका अध्यक्ष मोहनसिंह लामाले भने, “त्यसका लागि शारदानगर गाविसबाट १० कट्ठा जमिन पाइसकेका छौं, अब रकम जुटाउन लागिरेका छौं ।”

संग्रहालयमा संस्थापक सदस्यहरुको जानकारी, त्यसबेलाका दस्तावेज, ऋण दिएको तमसुक, विउविजन बाड्न प्रयोग गरिएको तुलोलगायतका सामान सग्रहीत गरिने संस्थाको योजना छ । यसैगरी देशभरीबाट सहकारीको महत्व राख्ने एतिहासीक बस्तु र तस्विरका साथै दस्तावेज संकलन हुनेछ । सग्रहालय भित्र अतिथी आवास गृह, पुस्तकालय, टेनिङ हल, स्विमिङपुललगायतका अत्याधुनिक सेवा उपलब्ध गराउने संस्थाको योजना छ ।

देशभरका सहकारीकर्मीहरु पहिलो सहकारीप्रति उत्सुकता बढेका कारण आफुहरुले सग्रहालय बनाउन पहल गरेको उपाध्यक्ष रानाले सुनाए । “देशभरका सहकारीकर्मी नेपालकै पहिलो सहकारी भनेर घुम्न आउनुहुन्छ, सहकारीको एतिहासिक पक्षलाई जोगाउनका लागि पनि संग्रहालय आवश्यक छ” अध्यक्ष लामाले भने ।

त्यसैगरी, सहकारीबारे ज्ञान लिन खोज्नेहरुका लागि उपयुक्त शैक्षिक केन्द्र र सहकारी पर्यटकीय गाउँका रुपमा समेत परिणत हुन संस्था लागिरहेको छ । त्यसका लागि संस्थासँग पर्याप्त रकम सहकारीसँग नभएकाले सहयोग जुटाउन बखान सहकारी लागि परेको छ ।

अन्तर्राष्ट्रिय सहकारी वर्ष–२०१२ मा सरकारले सहकारी सग्रहालय बनाउने घोषणा गरेकोले सोही कार्यक्रम अन्र्तगतको बजेटका लागि पहल भइरहेको संस्थाले जनाएको छ । तत्कालिन सहकारी तथा गरिवि निवारण मन्त्री एकनाथ ढकाल स्वयंम संस्थामा पुगेर सहयोग गर्ने प्रतिवद्धता गरेपनि हालसम्म सहयोग पाएको छैन ।

५७ वर्षे यातामा बखानले निकै उतार चढाव बेहोरेको छ । स्थापनाको केही समयपछि सरकारी नियन्त्रण चलेको सहकारी संस्था अहिले पञ्चायतकालिन सरकारी व्यवस्थापकहरूका कारण लागेका दाग मेटाउन प्रयासरत छ ।

तत्कालिन सरकारले विभिन्न क्षेत्रका बाढीपिडित जनतालाई चितवनको जंगल फाडेर बस्ती बसायो । तर, उनीहरुलाई खान, बस्नका लागि कुनै व्यवस्था भएन । त्यसैका लागि सहकारीमार्फत ऋण उपलब्ध गराउनका लागि राप्तीदून विकास आयोजनाको पहलमा बखान ऋण सहकारी समितिको स्थापना भएको हो । सहकारीमार्फत स्थानीय जनतालाई ६ महिनालाई खाद्यान्नका लागि ऋण प्रदान गर्नुका साथै खेतीका लागि बीउ–बिजन समेत वितरण गरेको थियो ।

राप्तीदून विकास आयोजना र स्थानीय कृषकरूबीचको मध्यस्तकर्ताको काम गर्दै आएका बखानसिंह गुरुङले आफ्नो नाममा सहकारी खोलेपनि आफ भने कार्यसमितिमा बसेनन् । आफै संरक्षक बसेर उनले ६० जना संस्थापक र खड्गबहादुर गुरुङलाई संस्थाको अध्यक्ष बनाए । आफुहरूलाई केही थाहा नभएको र बखानसिंह गुरुङले सहकारीमा लागे राम्रो हुन्छ भनेपनि लागेको थिए ।

सहकारीमा लागेपछि ऋण पाइन्छ, खेती गर्नका लागि विउ विजन पाइन्छ भनेपछि सहकारीमा लागेको स्थापनाकालीक सदस्यहरु बताउछन् । ११ रुपैयाँ सेयर राखेर संस्था सुरु गरेको र सबै मिलेर जंगल फाड्ने, खनजोत गर्ने, साझा रुपमा कुटो कोदालोको प्रयोग गरेको थिए । २०३५÷३६ सालसम्म राम्रो काम गरिरहेको संस्थामा सरकारले व्यवस्थापक पठाएपछि भाडभैलो मच्चिएको हो ।

सरकारी हस्तक्षेपका कारण सुसुप्त रहेको संस्था २०५१÷०५२ सालदेखि पुन सक्रिय हुन थालेको हो । उक्त समयमा कृषि बिकास बैंकसँग ४७ लाख रुपैयाँ ऋण रहेकोमा उक्त ऋण मिनाहा गरी संस्थालाई पुनः संचालनमा ल्याइएको संस्थाले जनाएको छ ।

तर, इतिहास बोकेको बखानपुर सहकारी अहिलेपनि आत्मनिर्भर भने छैन । बहउद्देश्यीय सहकारीका रुपमा काम गरिरहेको यो संस्थामा हाल करिब ३ सय सदस्य रहेका छन् । नगन्य रुपमा बचत ऋण कारोबार भएको संस्थाले बीउ–बिजन खरिदबिक्री गर्नुका साथै तेल मिल समेत संचालन गरिरहेको छ ।
“तेल मिलको आम्दानीले संस्था संचालन र दुई जना कर्मचारी धानेको छ” अध्यक्ष लामाले भने । जिल्ला कृषि विकास कार्यालयको सहयोगमा तेल मिल राखेको र त्यसलाई थप आधुनिकिकरण गर्न लागिएको उनले जानकारी दिए ।

बखानले कृषकबाट तोरी किनेर उत्पादन गरेको तेल शारदानगरमा लोकप्रिय भइरहेको छ । मिल राखेपछि तोरी खेती गर्ने किसानहरु बढेको र स्थानीयवासीले शुद्व तेल उपभोग गर्न पाएको संस्थाको भनाइ छ । उत्पादित तेलको देशभर माँग भएपनि स्थानीय आवश्यक्ता समेत पुरा गर्न नसकेको संस्थाका अध्यक्ष लामा बताउछन् ।

वित्तीय अवस्था शसक्त नभएपनि बखान सहकारी आफैंमा एउटा इतिहास हो । इतिहासलाई कसैले मेटर मेटन सक्दैनन् । यसलाई बचत तथा ऋणको काम गर्ने सामान्य सहकारीको रुपमा भन्दा पनि यसलाई ऐतिहासिक महत्वको संस्थाका रुपमा विकसित गर्नुपर्ने आम सहकारीकर्मीले माँग गर्दै आएका छन् । यसलाई सहकारीको ऐतिहासिक र पर्यटकिय स्थलका रुपमा विकास गर्नुपर्ने धारणा छ ।
आम सहकारीकर्मीको चाहाना अनुरुप सहकारीको एतिहासीक र पर्यटकीय स्थलका रुपमा विकास गर्न लागिपरेको बखान सहकारीलाई सरकारी निकाय र सहकारीकर्मीहरुको सहयोगको आवश्यक छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ