वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी संघको नेतृत्वका लागि नेताहरुको दौडधुप, बडाल र बास्कोटाको उम्मेदवारी घोषणा

अर्थटुडे
२०७१ श्रावण २०, मंगलवार

काठमाडौं । सहकारीहरुको छाता निकाय राष्ट्रिय सहकारी संघमा भावी नेतृत्वका लागि नेताहरुको दौडधुप सुरु भएको छ । अध्यक्षका लागि वर्तमान अध्यक्ष केशब प्रसाद वडाल, निवर्तमान अध्यक्ष दिपक प्रकाश बास्कोटा, संघका संचालक मिनराज कडेल, डिल्लीराम तिवारी र रविन्द्र केसी चर्चामा रहेका छन् ।sahakari sanga  chunab

सोमबार मिडिया इन्टरनेशनमा भएको चुनाव सम्बन्धी छलफलमा बडाल र बास्कोटा चुनावका लागि आफुहरु तयार भएको जनाउ दिएपनि अन्य नेताहरुले भने औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छैनन् ।

दुवै नेताहरुले सहमतिको लागि सकेसम्म प्रयास गर्ने र नभएमा प्रजातान्त्रिक प्रक्रियामा हुने चुनाव स्विकार्य रहेको बताए । कार्यक्रममा बोल्दै अध्यक्ष बडालले साथीहरुको चाहना अनुसार एकपटकका लागि फेरी नेतृत्व गर्न लागेको बताए ।

“चौतर्फी साथीहरुबाट एकपटकका लागि नेतृत्व गर्नुप¥र्यो भन्ने प्रस्ताव आएको छ” उनले भने, “त्यसका लागि म तयार भएको छु ।” सकेसम्म सर्वसम्मत नसके निर्वाचनमा जाने उनले बताए ।

यसैगरी संघका निवर्तमान अध्यक्ष दिपकप्रकाश बास्कोटा पनि सहकारीकर्मीकै आग्रहमा आफुले नेतृत्व गर्नका लागि तयार भएको बताए । यसअघि सर्वसम्मतीमा नेतृत्व चयन हुदै आएको बताउदै उनले त्यसमा आफुहरु अधिकतम लचक भएपनि सहमति नभए चुनावमा जाने स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै संचालकमा उम्मेदवारी घोषणा गरेका राष्ट्रिय सहकारी विकास बोर्डका विशेषज्ञ संचालक दक्ष पौडेलले सर्वसम्मतीमा कार्यसमिति चयन गरी सहकारी क्षेत्रलाई सकारात्मक सन्देश दिनुपर्ने बताए । उनले सहकारीको समस्याहरु बदलिएकाले त्यसलाई बुझेर सम्बोधन गर्न सक्ने नेतृत्व अहिलेको खाचो भएको बताए ।

एमाले समर्थित सहकरीकर्मीबाट बडाल र कांग्रेस समर्थीतबाट बास्कोटाको नाम आएको छ । यसबाहेक एमालेबाटै मिनराज कडेल र कांग्रेसबाट डिल्ली तिवारीको नाम चर्चामा आएपनि मिनराज कडेले भने उपाध्यक्षमा नै चित्त बुझाउने बुझिएको छ । उपाध्यक्ष पदमा आफू बस्न नचाहेको कडेलले स्पष्ट पारे पनि परिस्थितिलाई मध्यनजर राख्दै एमालेले उनलाई उपाध्यक्षमा नै चित्त बुझाउन भनेकोले उनी उपाध्यक्षमा बस्ने जानकारी दिइएको छ ।
हालसम्म माओवादी समर्थित सहकारीबाट कुनै नाम नआएपनि रविन्द्र केसी आफ्नो लविङमा लागेका छन् । राम्रो स्थान पाएमा एमाले वा कांग्रेसँसँग मिलेर प्यानल बनाउने तयारी रहेको बताइएको छ ।

जिल्ला र केन्द्रीय संघ सदस्य रहने राष्ट्रिय संघमा ३ सय १३ प्रतिनिधिलाई मतदानको अधिकार छ । उनीहरुले अध्यक्षसहित २३ जना संचालक र ३ सदस्यीय लेखा समितिको चयन गर्नेछन् । यसअघि केशब बडालको अध्यक्षतामा एमाले, काग्रेस र माओवादी समर्थीत सहकारीकर्मीहरुबिच भागबण्डा मिलाएर सर्वसम्मतीमा समिति चयन भएको थियो ।
एमाले र काग्रेसले अध्यक्ष अघि सारेपछि माओवादीलाई जसले फकाएर आफ्नो प्यानलमा ल्याउन सक्यो उसैले चुनाव जित्ने सम्भावना रहेको सहकारीकर्मीहरु विश्लेषण गर्छन । संघको उपाध्यक्षमा हालसम्म केबी उप्रेती र सुरेन्द्र भण्डारीले दावेदारी पेश भएपनि केवी उप्रेतिले भने उपाध्यक्ष नबस्ने संकेत गरेका छन् ।

उप्रेती संघको लेखा समिति संयोजक, जिल्ला सहकारी संघ काठमाडौंको अध्यक्ष र राष्ट्रिय सहकारी बैंकको प्रबन्ध संचालक हुन् । यसैगरी भण्डारी नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका अध्यक्ष हुन् । उप्रेती अध्यक्षका उम्मेदवार कडेलको सर्मथनमा छन् भने भण्डारी बास्कोटाको सर्मथनमा रहेका छन् ।

यसपटकबाट संघको विधान संसोधन गरी थप गरिएको महिला उपाध्यक्षको पदमा ओमदेवी मल्ल र प्रभा कोइरालाको चर्चा रहेको छ । मल्ल हाल संघको संचालक र संविधानसभा सदस्य समेत छिन् भने कोइराला संघकी संचालक हुन् । यसैगरी सदस्यहरुमा हालसम्म दक्ष पौडेल, परितोष पौड्याल, खेमराज सुवेदी, रामशरण बस्नेत, तुलसी सापकोटा, रमेश पोखरेल लगायतका नाम चर्चामा छ ।

आगामी ५ वर्षका लागि नयाँ नेतृत्व चयन गर्न साउन २२ र २३ गते राजधानीमा साधारणसभा हुदैछ । संघमा अनावश्यक पार्टीगत राजनीति हुन थालेको भन्दै केही सहकारीकर्मीले भने असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ