वि.सं. २०८१ मंसिर २०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रुसमा पुन श्रम स्वीकृति खुला गर्न एनआरएनएको माग

अर्थटुडे
२०८० चैत्र २२, बिहीबार

काठमाडौं । गैरआवासीय नेपाली संघले रुसमा पुन श्रम स्वीकृति खुला गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । रुस–युक्रेन द्वन्द्व, रुसमा नेपालीहरु अवैधानिक रुपमा सेनामा भर्ति भएको लगायतका कारण देखाई यसअघि सरकारले बन्द गरेको श्रम स्वीकृति संघकै पहलमा खुला गरिएपनि सरकारले पुनः चैत २० गते मंगलबारबाट बन्द गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराइएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री अर्यालसँग मन्त्रालयमा भेटघाट गरेको हो । भेटमा अध्यक्ष डा केसी कुनैपनि कुरामा समस्या आउनासाथ त्यसमा प्रतिबन्ध लगाउने भन्दापनि त्यसलाई व्यवस्थित बनाएर अघि बढ्नुपर्ने भन्दै श्रम स्वीकृति खुल्ला गर्नुपर्नेमा जोड दिए । जवाफमा मन्त्री अर्यालले रुसको विषय कुनै मन्त्रालयगत मात्रै विषय मात्रै नभई समग्र राज्य सरोकारको विषय भएकोले सरकारले यथोचित रुपमा समाधान गर्ने र त्यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भेटमा अध्यक्ष डा केसीले पछिल्लो समय रोजगार गन्तव्य बनेका क्रोएशिया,रोमनिया लगायतका यूरोपेली मुलुकहरुमा नबुझीकनै जाने र समस्यामा पर्ने, दलालबाट ठगिने, लगायतका समस्या बढ्दै गएकोले अवगत गराउँदै सरकारी तहबाटै नयाँ गन्तव्य मुलुकको पहिचान गरेर सम्झौता गरी श्रम स्वीकृति दिएर व्यवस्थित तरिकाले कामदार उठाउन आग्रह गरे । यस्तै अध्यक्ष डा केसीले चेक रिपब्लिकमा श्रम खुलाउन सरकारको ध्यानाकर्षण गराए । मन्त्री अर्यालले मन्त्रालयले नयाँ गन्तव्य मुलुकको खोजी तथा अध्ययन गरिरहेको र नयाँ तथा सुरक्षित गन्तव्य मुलुकका कामदार पठाउन सरकारी तयारी रहेको र केही देशमा पहल भइरहेको उल्लेख गरे ।

यस्तै अध्यक्ष डा केसीले हाल कुवेतमा समस्यामा रहेका नेपाली श्रमिकहरुलाई स्वदेश फिर्ता ल्याउन सरकारले अभिभावकत्व ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो । कुवेत सरकारको रेसिडेन्ट कानुन उल्लङ्घन गरेका थिए, उनीहरुलाई स्वदेश फर्कन कुवेत सरकारले बाटो खुल्ला गरेपनि टिकट काट्ने रकम अभावमा नेपाल फर्कन नसकेकोले उनीहरुलाई फिर्ता गर्न सरकारले अभिभावकत्व ग्रहण गर्नुपर्ने बताउनुभयो । कुवेत सरकारले रमदानको अवसर पारेर ४ वर्षपछि अवैधानिक रुपमा त्यहाँ रहेका आप्रवासीलाई स्वदेश फर्कन अनुमति दिएको हो । अध्यक्ष केसीले हाल २ हजार भन्दा बढी त्यस प्रकारका नेपाली कामदारहरु सो सुविधा पाएका र कुवेत स्थित नेपाली दुतावासमा गएर आवश्यक ट्राभल डकुमेण्ट समेत तयार गरिरहेको तर २०० भन्दा बढी नेपाली श्रमिकहरु घरफिर्तिका लागि हवाई टिकट तिर्न नसक्ने अवस्थामा रहेका हुनाले ती नेपाली श्रमिकहरुका लागि घरफिर्ति कार्यमा आवश्यक सहजीकरण गरिदिन आग्रह गरे ।

जवाफमा मन्त्री अर्यालले आफूहरुलाई पनि त्यसबारे जानकारी आएकोले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर ती श्रमिकलाई स्वदेश फिर्ता ल्याउनेबारे पहल गर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ