वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गर्भनर खतिवडाले भने– ‘सहकारी अनुगमन गर्न सक्दैनौ, राष्ट्र बैक अनाथालय हुन चाहादैन’

अर्थटुडे
२०७१ श्रावण ३१, शनिबार

काठमाडौं । गर्भनर डा.युवराज खतिवडाले नेपाल राष्ट्र बैंकले सहकारी दर्ता नगरेको र अनुगमन पनि गर्न नसक्ने बताएका छन् । शनिवार नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकून)को स्थापना दिवसमा बोल्दै उनले सहकारीको दर्ता गर्ने निकाय अर्को भएकाले संस्था विग्रीसकेपछि आफुहरुले हेर्न नसक्ने स्पष्ट पारे ।dr yuba

बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुको अनुगमन नेपाल राष्ट्र बैंकले गर्नुपर्ने आवाज उठिरहेका बेला गर्भनर खतिवडाको यस्तो भनाई सार्वजनिक भएको हो । “सहकारी संस्था जन्माउने अर्कै निकाय छ” उनले भने, “अरुले जन्माएका संस्था हेरेर हामी अनाथालय हुन चाहादैनौं ।”

राष्ट्र बैंक सहकारीहरुको अभिभावक र संरक्षक नभएको र सहकार्य गर्ने निकाय मात्र भएको उनको भनाई थियो । आर्थिक वर्ष २०६९÷०७० को बजेटमा सरकारले ५ करोडभन्दा बढी कारोबार गर्ने सहकारीको राष्ट्र बैंकले अनुगमन गर्ने घोषणा गरेपनि बैंकले क्षमता नभएको भन्दै अस्विकार गरेको थियो ।
४ वर्षअघि राष्ट्र बैंकले आफ्ना दुइ जना उपनिर्देशक सहकारी विभागमा खटाएर विभागमार्फत सहकारीको अनुगमन गरेको थियो । तर, त्रुटी भेटिएका सहकारीलाई समेत कारवाही गर्न नसकिएकोमा गर्भनर खतिवडाले खिन्नता व्यक्त गरे ।
“हाम्रो सहयोगमा अनुगमन गर्दा कैफियत भेटिएका सहकारीलाई समेत कारवाही गर्न सकिएन” उनले भने, “यसले गर्दा सहकारीको अनुगमनमा राष्ट्र बैंक त्यति उत्साहित छैन ।”

सहकारीमा सुधारका लागि सहकारी ऐन–२०४८ को परिवर्तन पहिलो सर्त भएको बताउदै उनले जोखिममा आधारित सुपरिवेक्षण प्रणाली लागू गर्न, मर्जर र एक्विजिसन संचालन गर्न आफुसँग भएको सिप सहकारीमा बाड्न तयार रहेको बताए ।

कार्यक्रममा बोल्दै उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले बचत तथा ऋण सहकारी बैंक भन्दा फरक नभएको बताए । “सहकारी बैंकजस्तै कमिसन खाने माध्यम भए, यदि बैंकजस्तै काम गर्ने हो भने किन चाहियो सहकारी” उनले भने सहकारीमा एकाधिकार पुँजीको अन्त्य गरी सामूहिक उत्पादनका काममा जान सकेमात्र सहकारीले सही काम गर्न सक्ने उनको भनाई थियो ।

बचत तथा ऋण सहकारीलाई व्यवस्थित गरी अर्थतन्त्रको मुल प्रवाहीकरणमा सहकारीलाई ल्याउन राज्यले पहल थालेको गौतमले बताए । “सहकारीको नियमन र अनुगमन प्रभावकारी बनाइनुपर्छ, सहकारीलाई छाडा छोड्न्न हुदैन” उनले भने ।
युवा तथा खेलकुद मन्त्री पुरुषोतम् पौडेलले ग्रामीण अर्थतन्त्रको विकासमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताए ।

“सहकारीमार्फत उत्पादन बढाएर व्यापार घाटा कम गर्न सकिन्छ, त्यसतर्फ सबैको ध्यान जान आवश्यक छ’ उनले भने, “सहकारीबाट कृषिका सबै क्षेत्रमा आत्मनिर्भर भई निर्यात गर्न सकिने प्रशस्त संभावना छन् ।”

२०४५ सालमा स्थापना भएको नेफ्सकूनमा हाल ७१ जिल्लाका २ हजार भन्दा बढी बचत तथा ऋण सहकारी आवद्व रहेका छन् । संघमा आवद्व संस्थाहरुमार्फत १८ लाख सदस्य आवद्व भएको र २ खर्व पुँजी परिचालन गरेका छन् । संघले आफ्ना सदस्यलाई शिक्षा, तालिमका साथै वित्तीय सेवा समेत दिदै आएको अध्यक्ष ऋषिराज घिमिरेले जानकारी दिए ।

नेफ्स्कूनले यस वर्षको सर्वोत्कृष्ट संस्थाको रुपमा दोलखाको मिलिजुली सहकारी र भक्तपुरको नारीकल्याण महिला सहकारीलाई सम्मान गरेको छ । नेफ्स्कूनले उत्कृष्ट जिल्ला संघको रुपमा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ, नेफ्स्कून विद्वता पुरस्कार सहकारी क्षेत्रमाविद्यावारिधि प्राप्तगरेका विश्वमोहन आचार्य, नेफ्स्कून संस्थापक अध्यक्ष पुरस्कार दोलखाका शिवजी राउत र संगिता घिमिरे, नेफ्स्कून सम्मान पुरस्कार साधनासिंह ठकुरी र श्यामलाल चित्रकारलाई प्रदानगर्ने घोषणा गरेको छ ।
त्यसैगरी उत्कृष्ट कर्मचारीको रुपमा शिवजी सापकोटा र उत्कृष्ट व्यवस्थापकको रुपमा सिद्धिगणेश साकोस भक्तपुरका व्यवस्थापक राजेन्द्र दुमरु, नेफ्स्कून राइफाइसन क्रेडिट युनियन पुरस्कार क्यानेडियन क्रेडिट युनियनलाई प्रदानगर्ने घोषणा गरिएको छ ।

क्षेत्रीय उत्कृष्ट सहकारीको रुपमा पूर्वाञ्चलबाट मोरङ्गको दाम्राभिट्टा, मध्यमाञ्चलबाट ललितपुरको स्कोप, पश्चिमाञ्चलबाट रुपन्देहीको जनउत्थान, मध्यपश्चिमबाट दाङ्गको राप्तीविश्वासी, सुदुरपश्चिमबाट ग्रामिण जनविकास, अन्तर लगानीतर्फ सर्लाहीको सगुन, लघुवित्ततर्फ लम्जुङ्गको कृषक जागरण, सहकारी सदस्य सुरक्षा योजनातर्फ सुर्खेतको हिमाली, नेकोस सफटवेयर लेकाली स्वावलम्वी साकोसलाई सम्मानितगर्ने घोषणा गरेको छ ।
यी सम्मान तथा पुरस्कारहरु आगामी पुस ६ गते २३ औं वार्षिक साधारणसभामा वितरण गरिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ