वि.सं. २०८१ आश्विन १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इच्छाशक्ति भए सम्भव छ, नेपालको एसियाली स्तरको आर्थिक वृद्धीदर

अर्थटुडे
२०७१ भाद्र ६, शुक्रबार

काठमाडौं । दुई छिमेकी राष्ट्र भारत र चीनले तिव्र रुपमा आर्थिक विकास गरिरहेका बेला नेपाल पनि एसियाली स्तरको आर्थिक वृद्धीदरमा पुग्न सक्छ ? भन्ने बारेमा बहसमा विज्ञहरु भन्छन्, नेपालको तिव्र इच्छाशक्ति हुने हो भने यो सम्भव रहेको बताउछन् । नेपालसँग सीमा जोडिएका राज्यहरुमा ४५ करोड जनसंख्या रहेको र तिनीहरुले लक्षित गरी नेपालले उत्पादन बढाउन सके नेपालको तिव्र आर्थिक विद्धी हुने विज्ञहरुको भनाइ छ ।

stefinबेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग (डिफिड) तथा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रबार गरेको कार्यक्रममा डिफिडका प्रमुख अर्थशास्त्री स्तेफान डेर्कनले नेपालले छिमेकी देशसँगै तिव्र आर्थिक विकास गर्ने सम्भावना रहेको बताए । छिमेकी भारतका नेपालसँग सीमा जोडिएका राज्यहरु तथा चीनको तिब्बका विकासको क्रममा अघि बढीरहेकाले नेपालका लागि त्यस क्षेत्रको ४५ करोड जनसंख्या नेपालको बजार हुनसक्छ, ‘तर नेपालले ढिला गर्नुहुँदैन,’ उनले भने, ‘भारतीय प्रधानमन्त्रीले घोषणा गरेअनुसार अब विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर गर्न २६ दिन बाँकी छ । उनले ४५ दिनको समय दिएर गएका थिए, किनकी समयको निकै ठूलो महत्व छ ।’ डेर्कनले नेपाली अर्थतन्त्रको संरचनागत रुपान्तरणलाई आफूले कम उत्पादकत्वबाट बढी उत्पादकत्व कायम गर्ने सवालमा बुझेको बताए । उत्पादकत्व बढाउनेबित्तिकै विद्यमान सबै समस्या हल हुने उनको भनाइ छ ।

‘एसियाका अन्य देशको तुलनामा नेपालमा व्यवसाय गर्ने वातावरण खासै नराम्रो पनि देखिदैंन, तर मुख्य कुरा इच्छाशक्तिको हो,’ उनले भने । बंगलादेशको तयारी पोशाक उद्योगको सफलताको उदाहरण दिदैं उनले उत्पादकत्व वृद्धिले त्यहाँको गरिबी निवारणमा सहयोग पु¥याएको चर्चा गरे ।

नेपालको उत्तरी छिमेकी तिब्बतले सार्वजनिक खर्च बढाएर विकास गरेको उदाहरण दिदैं उनले भने नेपालमा त विनियोजन गरेको वार्षिक बजेट पनि पुरै खर्च हुँदैन । रेमिट्यान्समा निर्भरता बढ्दो छ । उनले पछिल्लो समय नेपालभित्रै पनि आन्तरिक बसाइँसराइ उच्च रहेको आँकडा प्रस्तुत गर्दै बढी बसाइँसराइँ सेवा क्षेत्रको विकासले भएको उल्लेख गरे । नेपालमा कामको खोजीमा भएको कुल बसाइँसराइँमा ७० प्रतिशत सेवा क्षेत्रमा काम गर्ने गर्छन्, उनले भने । राजनीतिक प्रतिवद्धताको गरिबी निवारण र आर्थिक वृद्धिका लागि महत्वपूर्ण योगदान हुने भन्दै उनले वर्तमान समयमा बजारको अवसर, प्राविधिक र व्यवस्थापकीय क्षमताबाट नेपालले उच्च आर्थिक वृद्धि हासिल गर्ने बताए ।

कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा पर्याप्त उद्यमी वर्गको सिर्जना हुन नसक्दा न्यून आर्थिक वृद्धिमा चित्त बुझाउनुपरेको बताएका छन् । आर्थिक गतिविधि वृद्धिका लागि पर्याप्त उद्यमशीलता आवश्यक रहेपनि उद्यमशील सोच तथा उद्यमी सिर्जना गर्ने वातावरणको अभाव रहेको उल्लेख गरे ।

कार्यपत्रमा टिप्पणी गर्दै अर्थशास्त्री डा. शंकर शर्माले विकासका लागि राजनीतिक प्रतिवद्धता र इच्छाशक्ति आवश्यक रहेको उल्लेख गर्दै उनले नेपालको संवृद्धिमा मात्र स्थायित्व शान्ति कायम हुनसक्ने बताए । अर्का टिप्पणीकर्ता डा. डिल्लीराज खनालले राजनीतिक रुपमा भएका महत्वपूर्ण उपलब्धिले नेपाल आर्थिक रुपान्तरणको बाटोमा अघि बढ्नेमा आफू आशावादी रहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ