काठमाडौं ।
बाग्मती भयो गन्हाउने
पशुपतिको छेवैमा बसेर
बाँदरले लुतो कन्याउने ।।
नेपालका एकजना प्रसिद्ध लोकगायक बमबहादुर कार्कीको गीत हो यो । उनले यसअघिको बाग्मतीको दुर्दशालाई यस गीतमा पोखेका छन् । बाग्मतीको पानी शरीरमा परेपछि पशुपतिका बाँदरलाई पनि लुतोले छोएको र उसले लुतो कन्याएको यथार्थ भाव दिन्छ यस गीतले ।
तर अहिले यस गीतको भाव इतिहास बनिसकेको छ । बाग्मतीले यतिखेर आफ्नो पुरानै स्वरूप ग्रहण गर्दैछ । अहिले गन्हाउदैन बाग्मती । अहिले यसले बाँदर या मानिस कसैलाई पनि लुतो सार्दैन । पशुपतिका बाँदरलाई बाग्मतीकै पानीका कारण पशुपतिको छेउमा बसेर लुतो कन्याउनु पर्नेछैन ।
एकहत्तर साल लाएदेखि नै बाग्मतीमा लाखौँलाख श्रद्धालुले निर्धक्कसँग नुहाउन थालेका छन् । सिन्धुघाटीको सभ्यताजस्ता विश्वमा विकसित सभ्यताहरू नदी किनारबाट नै विकसित र व्यवस्थित हुँदै गएको तथ्यजस्तै नेपालको सन्दर्भमा पनि बाग्मती एक पुरानो सभ्यता हो ।
काठमाडौँ उपत्यकामा पोखरीको रूपमा रहेको पानीलाई चोभारको गल्छीबाट निकास गरिएदेखि नै बाग्मतीको तटीय क्षेत्रमा वस्ती विकसित हुँदै गएको छ । बाग्मती नदी उपत्यकाको धार्मिक, सांस्कृतिक र आर्थिक गतिविधिको प्रमुख स्रोत रहँदै आएको इतिहासबाट थाहा हुन्छ ।
नेपालका आराध्यदेव पशुपतिनाथले नुहाउने र उनको दर्शनका लागि जाने भक्तजनले श्रद्धापूर्वक ग्रहण गर्नेजस्तो पवित्र जलको सभ्यताको पहिचान लगभग हराउने हो कि भन्ने त्रासले सबैलाई चिन्तित तुल्याएको थियो ।
बाग्मतीको फोहोरका नाममा धेरै संस्थामात्र खुलेनन्, धेरैको माग्ने भाँडो पनि बन्यो । बाग्मतीमा वर्षैँसम्म ढल बग्यो र जसका कारण नुहाउनु त के छुन पनि नसक्ने अवस्था आयो । बाग्मती मातालाई नछोइकनै परैबाट नमस्कार गरेर फर्किन बाध्य थिए भक्तालुहरू ।
गत वैशाख १ गते पशुपति क्षेत्रको बाग्मतीमा मुख्यसचिवसहित नेपाल सरकारका सचिवहरूले नुहाए । त्यसदिन बाग्मती नुहाउने निमन्त्रणा काठमाडौंबासीलाई मोबाइलमार्फत दिइएको थियो । त्यहाँ उपस्थित नागरिकले बाग्मती माताका नाममा गरेको जय जयकार र स्वःस्फूर्तरूपमा नुहाउन तयार भएका हजारौँ व्यक्तिको भावना देख्दा उनीहरू बाग्मतीप्रतिको श्रद्धालाई शुद्ध जलका रूपमा बचाइराख्न इच्छुक देखिन्थे ।
त्रिहत्तर वर्षीय वृद्ध सामदेव भण्डारीले भन्नुभयो–‘अब बाग्मतीमा आउँदा नुहाएरै पुजा गर्न पाइने भयो, मलाई निकै खुशी लागेको छ । बाग्मतीका यी दिन नआउला कि भन्ने चिन्तामा थिएँ । बाग्मती माताको आफ्नै स्वरूप देखेर मर्न पाइन्छ कि भन्ने आशा पलाएको छ ।
बाग्मतीमा ढल होइन, जल बग्न थालेपछि पशुपतिमा पुग्ने जो कोहीले पनि नीलो त होइन सफा जल देख्न पाएका छन् । यही गति र रूपमा बग्ने हो भने आगामी केही वर्षमै बाग्मतीमा नीलो जल नै बग्ने छ । बाग्मतीको आफ्नै स्वरूपले मात्र हाम्रो सभ्यताको पुनरागमन गराउनेछ ।
बाग्मतीको यो स्वरूपको पहिलो श्रेय नेपाल सरकारका मुख्यसचिव लीलामणि पौडेललाई दिनुपर्छ । बाग्मतीमा हिजोआज बग्न थालेको सफा जलमा उहाँको परिश्रम पनि मिसिएको छ । उनकै अगुवाइले नै नेपाल बाग्मती सफाइमा सरकारी, निजी क्षेत्र र आम समुदायको साथ सहयोग जुटेको छ । हरेक शनिबार उहाँले हातमा ग्लोब र बुट लगाएर बाग्मतीको हिलोमा देखापरेपछि अरु कर्मचारी र समाजका धेरै व्यक्तित्वले पनि उपस्थिति बढ्न थालेको छ ।
सुन्दरीजलदेखि चोभारसम्मको २८ किलोमिटर लामो पथमा बाग्मती नदी कतै हरियो खेतीयोग्य फाँटहरू त कतै विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिसहित गोकर्ण, गुह्ेश्वरीजस्ता धार्मिक र पुरातात्विक सम्पदाहरूलाई छुँदै र कतै बाक्लो मानव वस्ती हुँदै बगेको छ । मानव वस्तीको विकाससँगै विभिन्न क्रियाकलापहरू नदीतटीय क्षेत्रमा बढ्दै जाँदा नदी प्रदूषित र अतिक्रमित हुँदै गएको हो ।
बाग्मती नदी र यसका सहायक नदीलाई स्वच्छ एवम् सफा गरी बाग्मती क्षेत्र र त्यस वरपरको प्राकृतिक, पुरातात्विक, सांकृतिक तथा धार्मिक सम्पदा र सभ्यताको संरक्षण र सम्वद्र्धनका लागि आवश्यक भौतिक पूर्वाधार विकास गर्न सरकारले २०५२ सालमा अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति गठन गरेको थियोे ।
समितिले नदी नियन्त्रण, ढल निर्माण, सडक निर्माण तथा हरियाली क्षेत्रको विकासमा जोड दिएको छ । समितिले २०५७ सालमा नेपालकै पहिलो गुह्ेश्वरीमा फोहोर पानी (ढल) प्रशोधन केन्द्रको निर्माण गरी गोकर्णदेखि गुह्ेश्वरीसम्मको फोहोर पानीको प्रशोधन गर्न थालेको हो । तर बढ्दो सहरीकरणले दैनिक तीन करोड लिटर फोहोर पानी प्राप्त हुने गरेकाले पूर्णरूपमा प्रशोधन हुन सकेको छैन ।
यस्तो अप्रशोधित फोहोर पानीलाई गुह्श्वरीदेखि तिलगङ्गासम्म सुरुङ क्षेत्रमा बाग्मतीमा नै विसर्जन गर्नेगरी आएकामा हाल फोहोर पानीलाई बाग्मतीमा विसर्जन नगरी तीलगङ्गादेखि ढल प्रणालीमार्फत सुन्दरीजल घाटसम्म लगिएको छ ।
बाग्मती नदीको दुवै किनारमा समानान्तररूपमा ढल निर्माण गरी सम्पूर्ण ढललाई सुन्दरीघाटसम्म लैजाने र एसियाली विकास वैँकको सहयोगमा त्यहाँ बन्ने अत्याधुनिक ढल प्रशोधन केन्द्रमा प्रशोधन गरी पानीलाई पुनः बाग्मतीमा बहाउने लक्ष्य राखिएको छ ।
सुन्दरीजलदेखि गोकर्णसम्मको आठ किमी क्षेत्रका नदी किनारमा वस्ती नभएको, हरियो खेत र फाँट हुँदै नदी आफ्नो प्राकृतिक स्वरूपमा बगेकाले नदी प्रदूषित भएको छैन । गोकर्णदेखि शङ्खमुल, मनोहरा दोभानसम्मको १२ किमी क्षेत्रमा नदीको दुवैतर्फ समानान्तर रूपमा २३ किमी ढल निर्माणको कार्य सम्पन्न भएको र अन्य काम हुँदै गरेको छ ।
उक्त समितिका अध्यक्ष नारायणप्रसाद रेग्मी यो अभियानले नदी हाम्रो जीवन र सभ्यता हो, नदी प्रदूषित हुन दिनुहँुदैन भन्ने जनचेतना अभिवृद्धि भई समाजमा सकारात्मक प्रभाव पर्न थालेको बताउनुहुन्छ । गत वर्षदेखि सरकारी तदारुकता तथा नागरिक सक्रियताले बाग्मती सफाइमा ठूलो सफलता हात लागेको उहाँको धारणा छ ।
एसियाली विकास वैँकले बाग्मती नदीको सुरु कार्यक्रमका लागि पाँच वर्षभित्र करिब चार अर्ब ऋण तथा अनुदान सहायता दिने गरी नेपाल सरकारसँग सम्झौता भई कार्य अघि बढाएको पनि अध्यक्ष रेग्मीले बताउनुभयो । यो कार्यक्रमअन्तर्गत बाग्मतीमा सुख्खायाममा पानीको बहाव बढाउन धाप क्षेत्रमा २४ मिटर अग्लो बहाव बनाई पानी सङ्कलन गर्ने र सुखायाममा दैनिक ४५० लिटर प्रतिसकेन्डको दरले ११ करोड लिटर पानी बाग्मतीमा छोड्ने योजना बनाइएको छ ।
बाग्मती नदी र यसका सहायक नदीनालालाई स्वच्छ र प्रदूषणमुक्त बनाई बाग्मती नदीको पूर्ववत् पहिचान कायम गराउन समिति आफैँले २०६९ माघ ९ बाट ‘बाग्मती नदी संरक्षण तथा सरसफाइ अभियान’ सुरु गरेको थियो । विभिन्न सङ्घ संस्थाहरूको स्वःस्फूर्त सहभागितामा २०७० जेठ ५ गतेबाट बाग्मती सफाइ महाअभियान नामाकरण गरी १०१ सप्ताहसम्मको लक्ष्य राखेर हरेक शनिबार बाग्मती सफाइ कार्यक्रम सुरु गरिएको हो ।
नदी सफाइको यस अवधिमा करिब १५ सय मेक्ट्रिक टन फोहोर सङ्कलन गरिएको समितिले जनाएको छ । यस कार्यमा करिब ७०० सङ्घ संस्थाको सहभागिता रहेको र हालसम्म डेढ लाखभन्दा बढी नागरिक यस कार्यमा सहभागी भइसकेका छन् ।
त्यसैगरी शिवपुरी जलाधार क्षेत्रको विकास गर्ने, बाग्मतीलगायत यसका सहायक विष्णुमती, मनोहरा, हनुमन्ते, धोवीखोला, कोङकु, नखु, टुकुचा आदि नदीहरूको सुधार गर्ने, गोकर्णदेखि सीनामङ्गलसम्मको सात किलोमिटर खण्डमा नदी शुद्धीकरण गर्ने, बाग्मती जलाधारमा आउने बाढीको भविष्यवाणी गर्ने आदिजस्ता कार्यक्रमहरू रहेको पनि अध्यक्ष रेग्मीले जानकारी दिए ।
योजनाको दोस्रो चरणमा बाग्मतीमा ६५ मिटर अग्लो बाँध बनाई पानी सङ्कलन गर्ने कार्यक्रम समेत रहेको छ । यस्ता कार्यक्रमहरूले बाग्मतीको सुधार हुने र बाग्मती सभ्यताले जीवन्तता पाउनेमा आशावादी बन्न सकिन्छ ।
प्रतिक्रिया