वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निर्मल प्रधानले सेयर बेचेपछि किन घट्यो बजार ?

अर्थटुडे
२०७१ आश्विन ६, सोमबार

कुमारी बैंकले आर्थिक वर्ष २०७०/०७१को खुद मुनाफामध्ये ३३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव ग-यो । सोही बीचमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकले पनि गत आर्थिक वर्षको खुद मुनाफामध्ये ३८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव ग-यो । तर यो प्रस्तावबाट सबैभन्दा बढी फाईदा लिने व्यक्ति भए– ठूला सेयर लगानीकर्ता निर्मल प्रधान ।

nirmalबैंकले बोनस सेयर घोषणा गरेलगत्तै सेयर मूल्य बढ्ने सम्भावना समेतलाई अध्ययन गरेर प्रधानले बुधबार र बिहीबार मात्र झण्डै एक लाख कित्ता भन्दा बढि सेयर अकास्मात बिक्री गरे । यसबाट एनसीसी बैंकको कारोबार भएको झण्डै आठ करोड रुपैयाँभन्दा बढिको रकममा सबैभन्दा बढि फाइदा लिने व्यक्ति प्रधान नै भए । बिहीबार नै एनसीसीको छ सय ४८ रुपैयाँ अन्तिम मूल्यमा दुई करोड ४९ लाख दुई हजार चार सय १३ रुपैयाँको सेयर बिक्री भएको थियो । सो दिन पनि प्रधानले सबैभन्दा बढी परिमाणमा सेयर बिक्री गरेका छन् । बिहीबार नै कुमारीको पाँच सय ७४ रुपैयाँ अन्तिम मूल्यमा तीन करोड १३ लाख छ सय ६० रुपैयाँ बराबरको सेयर बिक्री भएको मध्ये अधिकांश सेयर प्रधानको थियो । मंगलबार र बुधबार कुमारी बैंकको तीन लाख ४० हजार कित्ता सेयर खरिद बिक्री भएको छ । सो शेयर बिक्रीमा पनि सबैभन्दा बढि फाइदा लिने व्यक्ति प्रधान नै हुन् । प्रधानले कुमारीको सेयर बिक्री गर्दा प्रतिकित्ता पाँच सय ७४ रुपैयाँमा कारोबार भएको थियो भने एनसीसीको छ सय ४८ रुपैयाँ अन्तिम मूल्यमा सेयर खरिदबिक्री भएको थियो । शेयर बिक्री हुँदा रेट नतोकी ‘नन्’ गरेर बिक्री गरिएको छ ।


नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ पुगेको हुुनुपर्छ । सोही कारण पनि एनसीसी र कुमारीले गत आवको खुद मुनाफामध्येबाट नगदको साटो बोनस सेयर घोषणा गरेका हुुन् । लाभांश घोषणाले यी दुवै बैंकको सेयर मूल्य बढ्नुपर्ने भए पनि प्रधान समूहले आफ्नो नाउँमा रहेको सेयर बिक्री गरेपश्चात् भने दुवैको सेयर मूल्य क्रमशः घटेको छ । प्रधान समूहले बिक्री गरेको सेयर सर्वसाधारण लगानीकर्ताहरुले खरिद गरेका थिए । बोनस सेयरको घोषणाले सेयर मूल्य बढाउने अपेक्षाको साथ लगानीकर्ताहरुले एनसीसी र कुमारीका सेयर खरिद गरेका हुन् । बुधबार र बिहीबार नै यी दुवै बैंकको उच्च मूल्यमा सेयर बिक्री भएको थियो । तर सेयर खरिदसँगै मूल्य घट्नुले खरिदकर्ता भने अतालिएका छन् । लाभांश घोषणाको मौका पारेर प्रधानले सेयर बेचेलगत्तै सेयर घट्नुको पछाडि पनि चलखेल भएको आशंका गरिएको छ ।  

प्रधानले एनसीसी र कुमारी रहेको सेयर प्रतिकित्ता न्यूनतम सेयर मूल्य नै कायम नगरी हुचुवाको भरमा बिक्री गरेका हुन् । तर जुन रुपमा बिक्री गरे पनि प्रधानले दुवैको सेयर बिक्रीबाट राम्रो प्रतिफल कमाएका छन् । बोनस सेयरको घोषणा गरे पनि तत्कालको लागि कुमारी र एनसीसीको सेयर मूल्य बढ्ने सम्भावना न्यून छ । बोनस सेयर घोषणाको समयमा समेत नबढेको सेयर मूल्य अब कसरी बढ्न सक्छ ? एनसीसी र कुमारी सेयर खरिदकर्ताहरु अहिले यही भनिरहेका छन् । सेयर खरिद एवं बिक्री दुवैमा निकै नै कुटिल रुपमा प्रस्तुत हुने गरेको प्रधानले सेयर बेचेपछि पुँजीबजार ओरालोतर्फ उन्मुख भएको छ । प्रधानले यसअघि नै ती दुई बैंकमा आफ्नो नाउँमा रहेको सेयर बिक्री गर्न खोजेको भए पनि उनी उपयुक्त मौकाको पखाइमा थिए । सेयर बिक्रीपश्चात् भने प्रधानसहितको टोली रकम होल्ड गरेको बसेको छ ।

एक हजार अंकभन्दा माथि पुगेको नेप्से क्रमशः घटेर आठ सय ९९ अंकको हाराहारीमा रहेको छ । यो अवस्थामा धेरैजसो ठूला लगानीकर्ताहरु रकम ‘होल्ड’ गरेर बसेका छन् भने गुमाउनेहरुमा भने साना तथा मझौला लगानीकर्ताहरु परेका छन् । बजार सुधार हुने सम्भावना न्यून रहेकाले बजार अझै घटेर पाँच सयको हाराहारीमा आउनसक्ने आँकलन पनि यो बीचमा केही लगानीकर्ताहरुले गरेका छन् । यो अवस्थामा ठूला लगानीकर्ताहरुको लागि रकम ‘होल्ड’ गर्नु बाहेकको अर्को विकल्प छैन ।

आर्थिक दैनिकबाट साभार 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ