वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शेयर बजारमा बियरिश प्रवृत्ति लगातार किन ? हरिवोल काफ्लेको विश्लेषण

अर्थटुडे
२०७१ आश्विन ६, सोमबार

शेयरबजार नेप्सेको प्रवृत्ति लगातार बियरिश देखिएको छ । एकाएक चुलिएको बजार भारी अङ्कले गिरावट आएपछि लगानीकर्ता त्रासमा रहेको देखिन्छ । किन एकाएक बजारमा यो प्रवृत्ति भित्रिएको हो, यो सबै लगानीकर्ताको जिज्ञासा पनि हो ।

१. पुराना भर्सेस नयाँ लगानीकर्ताको फ्युजन
haribol kafleकेही समययता ठूलो मात्रामा नयाँ लगानीकर्ता बजारमा भित्रिएका छन् । तर, उनीहरूको शुरूमा लगानी परिचालन र व्यवस्थापन गर्ने पद्धति फरक किसिमको हुन्छ । अहिलेको बजारको आकारअनुसार नयाँ लगानीकर्ताको हातमा समेत ठूलो परिमाणमा शेयर पुगिसकेको अवस्था देखिन्छ । यो एक किसिमको पुस्ता हस्तान्तरणको समय पनि हो । प्रायः नयाँ लगानीकर्ताको जमात र उनीहरूको व्यवहार नीतिगत, वित्तीय र वस्तुगत औजारहरूको विश्लेषणभन्दा पनि बजार प्रवृत्तिको पछाडि दौडने खालको रहन्छ । यस्ता लगानीकर्ताले बजार जति बुलिश हुँदै जान्छ त्यति नै ठूलो परिमाणमा शेयर उठाउने र बियरिश हुँदै जादा धैर्य गुमाउने गरेको अवस्था देखिन्छ ।

यो समयमा पुराना लगानीकर्ताले बजारलाई टेवा दिनुपर्ने अवस्था हो । तर, अब हाम्रो बजारको हिस्सामा पुराना लगानीकर्ताको हैसियत र अनुपात खुम्चँदै गएको छ । दैनिक ५० करोडको औसत रकमभन्दा बढी कारोबार भइरहेको अवस्थामा समेत बजारको रूप घट्दोे देखिन्छ । तसर्थ नेप्सेको यस्तो प्रवृत्ति आउनुमा पुराना भर्सेस नयाँ लगानीकर्ताको फ्युजन र असमाञ्जस्यता एउटा कारण मान्न सकिन्छ ।

२. अपरिपक्व प्रणाली र कमजोर संरचना

कारोबार परिमाणलाई विश्लेषण गर्दा पूर्ण स्वचालित अवस्थामा चल्नुपर्ने अवस्था देखिन्छ । संस्थागत लगानीकर्ताको ठूलो अङ्कको कारोबारलाई समेट्दै नेप्सेको प्रणालीले औसत ५० करोडको कारोबारलाई मुश्किलले थेगेको छ । व्यक्तिगत कारोबार मात्रको हिस्सा र हैसियत हेर्ने हो भने नेप्सेको प्रणालीले औसत १० करोडको कारोबारभन्दा बढी चाप थेग्न सक्दैन । किनकि व्यक्तिगत कारोबार परिमाणात्मक रूपले ठूलो आकार हुन्छ भने संस्थागत कारोबार परिमाणात्मक आकारको हुन्छ । यस्तो अवस्थामा लागानीकर्ताले स्वविवेकले आफ्नो लगानीको परिचाालन र प्रतिफल लिन नसक्ने अवस्था रहन्छ । यदि लगानीकर्ताले सही मूल्य र सही समयमा सही किसिमका शेयर उपकरणहरू खरीद विक्री गर्न सकेनन् भने बजार आफै निष्क्रिय हुने र गति लिन नसक्ने अवस्थामा रहन्छ । त्यस्तै कमजोर नियामक संरचना पनि बियरिश बजारको दोषी देखिन्छन् । धितोपत्र बोर्डको हैसियत नेपाल राष्ट्र बैङ्क मातहतको एउटा एकाइको रूपमा नियाल्न सकिने अवस्था छ । बजारको स्थिरताका लागि बोर्डले आफ्नो छुट्टै पहिचान र रवाफको छाप छोड्न सकेको छैन । समय समयमा नेपाल स्टक एक्सचेञ्जका कतिपय कामकारबाही उदेकलाग्दो र सरकारी संस्थानको झलक दिने खालको रहन्छ ।

३. नीतिगत अस्थिरता 

नीतिगत स्थिरता रहनु बजारको स्थिरताका लागि महŒवपूर्ण पक्ष हो । खासगरी मुद्रा, वाणिज्य, वित्तीय र समग्र अर्थनीतिले बजारमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ । तर, नेपालको सन्र्दभमा यस्ता नीतिगत पक्षभन्दा पनि  नियामक निकायहरूको बेमौसमी प्रकारका परिवर्तनशील व्यवस्था र प्रावधानहरूले प्रभाव पारेको देखिन्छ । कतिपय प्रावधान विनाबहस प्रयोगका रूपमा र झट्ट हेर्दा सनक चढेको भरमा ल्याइएकोझैँ लाग्ने देखिन्छन् । यस्ता प्रावधानको व्यवस्था हुनुअघि बहस र अभिमत बटुल्ने बानी नियामक निकायले गर्दैनन् । तर, भारतलगायत विकसित देशमा वित्तीय व्यवस्थामा हुने नीतिगत प्रावधान परिवर्तनको आवश्यकता परेमा सरोकारवालाहरूको अभिमत अनिवार्यजस्तै मानिन्छ ।

नियामक निकायहरूका बीचमा नीतिगत समाञ्जस्यता र एकरूपता नहुनु पनि बजार अस्थिर हुनुको अर्को कारण हो । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको लगानीलाई सङ्कुचित गराउने सूचना दिएको दिनको सेरोफरोमा बीमा समितिले बीमा कम्पनीको लगानीको आकार र विविधीकरण गर्ने प्रकारको अर्को महत्वपूर्ण सूचना सार्वजनिक गरेको देखिन्छ । यस्तो अवस्थाले बजारमा चलखेल गर्नेहरूका लागि बाटो खोलिएको  छ । फलतः १ दिन बुलिश प्रवृत्तिमा सर्किट ब्रेक हुने बजार लगत्तै अर्को दिन बियरिश प्रवृत्तिमा सर्किट ब्रेक हुन जान्छ ।

४. नियामक निकायको व्यवस्था नहुनु

कारोबारमा आएका कतिपय संस्था तथा कम्पनीको अहिले पनि नियामक निकाय नै छैनन्, जुन कम्पनीहरूको बजार हिस्सा र अनुपात विस्तारिँदै गएको छ । जलविद्युत् समूहका रूपमा सूचीकृत कम्पनीहरूको आफ्नै खालको मनपरीतन्त्र सबै लगानीकर्तालाई मान्य भइरहेको छ । चिलिमे कम्पनीमा हालै देखिएको समस्या र समाधानको अलमलले नियामक निकायको अभाव खड्किएको देखाउँछ । त्यस्तै पछिल्लो समयमा होटेल समूहले पनि कारोबारको अनुपातमा आफ्नो प्रभाव जमाउँदै गएको देखिन्छ । विगतको बजार विश्लेषण गर्ने हो भने पनि कुनै समय होटेल समूहको शेयर लगानीकर्ताका लागि बोझका रूपमा परिणत भएको थियो । नेकोन एयरलगायत बजारबाट अस्तित्व मेटिएका कम्पनीको सूची हेर्ने हो भने पनि ती सबै नियामक निकाय नभएका असङ्गठित क्षेत्रका कम्पनी धेरै थिए । तसर्थ बजारको अवस्थालाई स्थिरता दिन पनि नियामक निकायहरूको यथाशक्य व्यवस्था जरूरी छ ।

तर, अबको समय फेरिएको छ । शेयरबजारमा स्वचालित प्रणाली,  चुस्त संरचना, र अभ्यासको खोजीमा नयाँ पुस्ता भित्रिएको हुन्छ । तर, बजारको परिपक्वताका निम्ति पुराना र नयाँ दुवै लगानीकर्ताको भूमिका अपरिहार्य छ । नीतिगत अस्थिरतालाई दीर्घकालीन तवरले समाधानको बाटोमा लैजान सबै पक्ष उत्साही हुन जरुरी छ ।

नेशनल काउन्सिल फर इकोनोमिक एण्ड डेभलप्मेण्ट रिसर्चका निर्देशक काफ्लेको विचार अभियान दैनिकबाट साभार गरिएको हो । 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ