वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अष्ट्रेलियनको लगानीमा पाँचतारे ‘शेराटन काठमाण्डौ होटल’ खुल्दै

अर्थटुडे
२०७१ आश्विन २४, शुक्रबार

काठमाडौं । एमआईटी ग्रुप होल्डिङसको लगानीमा काठमाण्डौमा पाँचतारे ‘शेराटन काठमाण्डौ होटल’ खुल्ने भएको छ । गैरआवासीय नेपाली दिवसका अबसरमा शनिवार सो होटलको प्रधानमन्त्री सुशील कोइरालाले शिलन्यास गर्नेछन् ।seraton hotel
८ अर्ब रुपैयाँ लगानीमा बन्न लागेको सो होटलमा सत प्रतिशत बैदेशिक (अष्ट्रेलियन) लगानी रहने छ । होटलको प्रर्बद्धक अष्ट्रेलियाको एमआईटी ग्रुप होल्डिङस रहेको छ भने ब्यबस्थापन तथा संचालन सिंगापुरको स्टारवुड ग्रुपले गर्ने छ ।

काठमाण्डौको मुख्य केन्द्र कान्तिपथस्थित केशरमहलसँगै रहेको करिव १४ रोपनी क्षेत्रफलमा होटल निर्माण हुने छ । १७ तलाको होटलमा दुई तला पार्किङ, बेसमेन्ट, लवीसहित १३ वटा तलामा गेष्टरुम हुनेछन् ।

हाल होटलको डिजाइन र नक्सा पास भइसकेको छ भने शिलन्यास लगत्तै निर्माण कार्य सुरु हुने छ । सन् २०१७ को अन्त्यसम्ममा निर्माण सम्पन्न गरी सन् २०१८ फेब्रुअरी महिनाबाट होटल संचालन गर्ने लक्ष्य लिइएको एमआईटी गु्रपले जनाएको छ ।SHERATON-KATHMANDU_FRONT-FACE-Final-2-jpg

अन्तराष्ट्रिय स्तरको प्रतिष्ठित शेराटन होटल नेपाल आउनु मुलुकको पर्यटन उद्योग र समग्र आर्थिक बिकाशमा समेत महत्वपूर्ण उपलब्धि रहेको जनाइएको छ । मुलुकको सेवा क्षेत्रमा आएको सवैभन्दा ठूलो प्रत्यक्ष बैदेशिक लगानी भएकाले नेपालको पर्यटन उद्योगको बिकाशमा दूरगामी प्रभाव पार्ने बिश्वास लिइएको एमआईटी ग्रुप होल्डिङ नेपालका अप्रेसन म्यानेजर सुरेश चित्रकारले जानकारी दिए ।

यसले नेपालमा प्रत्यक्ष बैदेशिक लगानीमा ठूला परियोजना सुरु गर्न प्रोत्साहन मिल्ने छ भने शेराटनजस्तै अन्तराष्ट्रिय चेन होटललाई नेपाल आउन हौसला मिल्ने बताइएको छ । करिव एक सय मुलुकमा रहेका सेराटन होटल र यसको संजालमार्फत् नेपालको पर्यटन उद्योगको प्रर्बद्धन हुने र नेपालमा स्तरीय पर्यटकको आगमन बृद्धि हुने बिश्वास रहेको चित्रकारको भनाइ रहेको छ ।

पाँचतारे लक्जरी होटल शेराटनको बिशेषता

पाँचतारे लक्जरी होटल शेराटन काठमाण्डौमा २१८ वटा गेष्टरुम र सुइट रहने छन् । हेल्थ क्लव, स्पा, वातानुकुलित स्वीमिङ पुल र फिटनेस सेन्टरसहितका सुबिधा उपलब्ध हुनेछन् । होटलभित्रै रिटेल सपिङ सुबिधा हुने छ भने स्थानीय र अन्तरराष्ट्रिय स्वादका खानाको आनन्द लिन सकिने छ ।

बिबाह तथा सभा समारोहका लागि करिव एक हजार सिट क्षमताको सभाकक्ष हुने छ जुन काठमाण्डौमा हालसम्म उपलब्धमध्ये सवैभन्दा ठूलो हुने छ । यसबाहेक थप दुईवटा सभाकक्ष, तीनवटा मिटिङ रुम र बोर्ड रुम पनि रहनेछन् ।

भवनको निर्माण आधुनिक ‘पोष्ट टेन्सन्ड कंक्रिट’ बिधिमार्फत् गरिने छ, जुन काठमाण्डौमा पहिलोपटक प्रयोग गर्न लागिएको हो । यसले भवनलाई बलियो र सुरक्षित बनाउने छ ।

होटल निर्माणका क्रममा करिव ५० हजारले प्रत्यक्ष रोजगारी पाउने छन् भने होटल संचालनपछि ४५० जना दक्ष जनशक्तिले रोजगारी पाउने छन् ।
शेराटन होटलबारे

बिश्वकै अग्रणी होटल म्यानेजमेन्ट कम्पनी ‘स्टारवुड होटल र एण्ड रिसोर्ट वल्डवाइड इंक’ले संचालन गर्ने बिभिन्न होटल ब्राण्डमध्ये शेराटन पनि एक हो । शेराटन ब्राण्डमा बिश्वका करिव ७० मुलुकमा ४ सय होटल संचालन भइरहेका छन् । स्टारवुडले शेराटनबाहेक सेन्ट रेजिज, द लक्जरी कलेक्सनआर, डव्लु आर,वेश्टनर लगायतका विभिन्न ब्राण्डमा बिश्वका झण्डै एक सय मुलुकमा होटल संचालन गरिरहेको छ । जहाँ करिव १ लाख ८१ हजार ४ सय कर्मचारी कार्यरत छन् ।

एमआईटी ग्रुप होल्डिङबारे

गैरआवासीय नेपाली शेष घले र जमुना गुरुङद्वारा प्रर्बद्धित अष्ट्रेलियाको मेलवर्नमा मुख्यालय रहेको ‘एमआईटी ग्रुप होल्डिङ्स’ले शिक्षा र रियलस्टेट क्षेत्रमा काम गरिरहेको छ । एमआईटीको लगानीमा मेलवर्न र सिड्नीमा ‘मेलवर्न इन्टिच्यूट अफ टेक्नोलोजी’ कलेज संचालन गरिरहेको छ जहाँ करिव ३ हजारभन्दा धेरै अन्तराष्ट्रिय बिद्यार्थी अध्ययनरत छन् । एमआईटी ग्रुपले पोपर्टी म्यानेजमेन्टको काम पनि गरिरहेको छ । एमआईटीसँग मेलवर्न र सिड्नीका मुख्य स्थानमा रहेका बिभिन्न ब्यबसायिक भवनहरुको स्वामित्व छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ