काठमाडौं । अर्थमन्त्री डा.रामशरण महतले पोखराको क्षेत्रीय विमानस्थल निर्माणको काम छिट्टै सुरु हुने बताएका छन् । पोखराको सबैभन्दा पुरानो बजार रामबजारको स्वर्ण महोत्सवका अवसरमा आयोजित प्रदर्शनीको उद्घाटन कार्यक्रमका अवसरमा मन्त्री डा.महतले सो कुरा बताएका हुन् ।
आफूले सात बर्षअघिको बजेटमा पोखरामा क्षेत्रीय विमानस्थल निर्माण गर्ने कार्यक्रम राखेको स्मरण गर्दै उनले बाह्य सहयोग परिचालन गर्ने क्रममा ढिलाई भएपनि सरकारले आफ्नै स्रोत र साधन परिचालन गरेर पनि यो क्षेत्रीय बिमानस्थल बनाई छाड्ने बताए ।
उनले बिमानस्थल छिटो बनाउनकै लागि चालु आर्थिक बर्षको बजेटमा पनि करिब एक अर्ब रुपैयाँ छुट्याएको जानकारी समेत सो कार्यक्रममा दिए । पोखरलाई पर्यटकीय गन्तब्य बनाउन क्षेत्रीय विमानस्थल अपरिहार्य रहेको उनले बताए ।
क्षेत्रीय विमानस्थल बनेपछि यो शहर आर्थिक, पर्यटकीय, शैक्षिक र स्वास्थ्य सेवाको आकर्षक केन्द्र बन्नेछ उनले भने संबिधान बनेपछि निर्माण हुने प्रान्तको पोखरा एउटा आकर्षक राजधानी बन्नेछ । अर्थमन्त्री डा.महतले सडकहरुमा सौर्य उर्जाको प्रयोग बढाउन अर्थमन्त्रालयले अनुदान दिने गरी तयारी गरिरहेको समेत जनाए ।
अर्थमन्त्री डा महतले भने,क्षेत्रीय विमानस्थलको निर्माण मात्र होइन, मध्यपहाडी लोकमार्ग कास्कीको उत्तरलाई छोएर जाने व्यवस्था मिलाइएको छ । यही क्षेत्रमा ठूला जलबिद्युत आयोजनाहरु बन्दैछन । तीन बर्षभित्रमा लोडसेडिङ अन्त्य गर्ने संकल्पका साथ सरकारले काम गरिरहेको बताउँदै अर्थमन्त्री डा. महतले उर्जा क्षेत्रमा मात्र ७०० अर्बभन्दा बढी लगानी आउँने दावी गरे ।
त्यसैगरी उनले अन्य क्षेत्रमा पनि ठूलो लगानी आइरहेको छ र अव देशको अर्थतन्त्रले छिट्टै काँचुली फेर्ने बताए ।
पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको एक अर्को कार्यक्रममा पनि अर्थमन्त्रीले पोखराको क्षेत्रीय
बिमानस्थलको निर्मााण कार्य चाँडै नै शुरु हुने बताए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष बिन्दुकुमार थापाले पोखराको आर्थिक गतिबिधिहरुलाई अगाडि बढाउने प्रमुख अस्त्रको रुपमा क्षेत्रीय विमानस्थल भएकोले त्यसलाई यथाशीघ्र निर्माण गर्न अर्थमन्त्रीसमक्ष अनुरोध गरेका थिए ।
प्रतिक्रिया