वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सीईओविहीन हुँदै आधा दर्जन वाणिज्य बैङ्क

अर्थटुडे
२०७१ कार्तिक २४, सोमबार

काठमाडौं । केही महीनाभित्र आधा दर्जन वाणिज्य बैङ्कहरू प्रमुख कार्यकारी अधिकृत (सीईओ) विहीन हुने देखिएको छ । हाल सेञ्चुरी कमर्शियल, प्रभु र सनराइज बैङ्कमा प्रमुख कार्यकारी छैनन् । बैङ्क सञ्चालक समितिले यसअघि कार्यरत प्रमुख कार्यकारीको समयावधि थप नगरेपछि ती बैङ्क सीईओविहीन भएका हुन् । यस्तै, ग्लोबल आईएमई, एनआईसी एशिया र सिद्धार्थ बैङ्कमा पनि प्रमुख कार्यकारी अधिकृतको करार समयावधि छिट्टै सकिन लागेको  समाचार आजको अभियान दैनिकमा प्रकाशित छ ।

CEO

हाल सीईओविहीन भएका ३ र पदावधि सकिन लागेका ३ गरी आधा दर्जन वाणिज्य बैङ्कमा उक्त पद खाली हुन लागेको हो । तीमध्ये १ जना सीईओको समयावधि थप गर्ने चर्चा चले पनि बाँकीको समयावधि थप नहुने सम्बन्धित बैङ्क स्रोतले बताएको छ ।

सेञ्चुरी कमर्शियल बैङ्कका प्रमुख कार्यकारी अधिकृत गणेश श्रेष्ठको पदावधि सकिएपछि अनुजमणि तिमिल्सिनालाई निमित्त सीईओको जिम्मेवारी दिइएको छ । नेपाल इन्भेष्टमेण्ट बैङ्कमा लामो समय काम गरेका तिमिल्सिनालाई करीब १ वर्षअघि सेञ्चुरी बैङ्कमा लगिएको हो । स्रोतका अनुसार उनलाई सीईओ बनाउन उक्त बैङ्कमा लगिए पनि अहिलेसम्म निमित्तको जिम्मेवारी मात्र दिइएको छ ।

यस्तै, प्रभु बैङ्कमा कुमार लम्सालको बिदाइपछि अशोक शेरचनले निमित्त सीईओको जिम्मेवारी पाएका छन् । शेरचन सोही बैङ्कका डेपुटी सीईओ हुन् । यसअघि शेरचन तत्कालीन प्रभु विकास बैङ्कका सीईओ थिए । किष्ट बैङ्क र प्रभु विकास बैङ्कबीच मर्जरको आन्तरिक सहमति भएपछि शेरचन डेपुटी सीईओ बनेर किष्ट बैङ्क छिरेका हुन् । यद्यपि, यो बैङ्कले बाहिरबाट नयाँ सीईओ ल्याउने वा शेरचनलाई नै उक्त पद दिने विषयमा आन्तरिक छलफल भइरहेको बुझिएको छ ।

यस्तै, सनराइज बैङ्कका सीईओ सुरेन्द्रमान प्रधानको बिदाइपछि निमित्त सीईओको जिम्मेवारी सोही बैङ्कका बलराम विष्टले सम्हालेका छन् । विष्ट सोही बैङ्कका डेपुटी सीईओ हुन् । तर, यो बैङ्कले बाहिरबाटै अनुभवी सीईओ ल्याउने तयारी गरेको बुझिएको छ । सो पदका लागि कुमार लम्साल, अनलराज भट्टराईलगायत केही बैङ्करहरूसँग छलफल भइरहे पनि टुङ्गो लागी नसकेको स्रोतले बताएको छ । स्रोतका अनुसार कुमार लम्सालको सम्भावना केही बलियो रहेको छ ।

सम्भावित सीईओका लागि अहिले बजारमा सुधीर खत्री, सुमन जोशी, कुमार लम्साल, अनलराज भट्टराई केही चर्चित नाम हुन् । यी सबै विभिन्न वाणिज्य बैङ्कका पूर्वसीईओ हुन् । तीमध्ये खत्री र जोशीले पुनः सीईओ नबन्ने पटकपटक बताउँदै आएका छन् । यसका आधारमा पूर्वसीईओमध्ये अब लम्साल र भट्टराई सम्भावित उम्मेदवार देखिएका छन् । तीमध्ये लम्साल ऋण असुली र कर्जा व्यवस्थापनमा दक्ष मानिन्छन् भने भट्टराई कम्पनी स्थापना र व्यवस्थापनमा । भट्टराई चार्टर्ड एकाउण्टेण्ट पनि हुन् । यस्तै, भट्टराईसँग लामो समयसँग विभिन्न बैङ्कको उच्च पदमा काम गरेको अनुभव छ भने लम्सालसँग विभिन्न पदमा बसेर काम गरेको अनुभव छ ।

यस्तै, ग्लोवल आईएमई बैङ्कका सीईओ रत्नराज वज्राचार्यको करार अवधि पनि छिट्टै सकिँदै छ । त्यसपछि पुनः उनको समयावधि थप नगर्ने बैङ्क स्रोतले बताएको छ । बैङ्कले करीब २ महीनाअघि एनआईसी एशियाका नीरज श्रेष्ठलाई आफ्नो डेपुटी प्रमुख कार्यकारी अधिकृत बनाएर लगेको छ । तत्कालीन समयमा श्रेष्ठ एनआईसी एशिया बैङ्कमा महाप्रबन्धक थिए । अहिले बैङ्कमा जनक शर्मा पौडेल र श्रेष्ठ गरी दुई डेपुटी सीईओ छन् । श्रेष्ठलाई सीईओ बनाउने उद्देश्यले ग्लोबल आईएमई बैङ्कमा लगिएको बुझिएको छ ।

केही महीनापछि एनआईसी एशिया बैङ्कका सीईओ सशीन जोशीको पनि कार्यकाल सकिँदै छ । आप्mनो कार्यकालमा जोशीले राम्रै काम गरे पनि पुनः समयावधि थपिने सम्भावना झिनो बन्दै गएको आन्तरिक स्रोतले बताएको छ । यस्तै, सिद्धार्थ बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको पनि कार्यकाल सकिँदै छ । बैङ्क स्रोतका अनुसार उनको समयावधि थपिने सम्भावना कम छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ