२५ जना दलाल व्यवसायीद्वारा शुरू गरिएको शेयर कारोबारमा तत्कालीन समयमा नै हामी दलाल व्यवसायीले सीडीएसको आवश्यकता महसूस गरेका थियौँ । केन्द्रीय निक्षेप प्रणालीको स्थापनापश्चात् कारोबारको आकार धेरै बढ्ने र छिटोछरितो स्वामित्व हस्तान्तरण हुने विषयमा सम्बन्धित सबै पक्ष विश्वस्त थिए र छन् । त्यति बेला विकसित देशहरूमा मात्र सीडीएस स्थापना भएको थियो । नेपालमा स्टक एक्सचेञ्ज शिशु अवस्थामा रहँदै देशमा द्वन्द्व शुरू भयो । आन्तरिक द्वन्द्व र कलहले गर्दा देशमा उद्योग धन्दा, हाइड्रोपावर, पर्यटन सबैतिर नकारात्मक प्रभाव पर्न गयो । त्यसको असर शेयर बजारमा पनि प¥यो । यसको विकास पनि अवरुद्ध भयो ।
१९९० को दशकमा भएको आर्थिक उदारीकरण र बजारमुखी अर्थतन्त्रको उदयपछि शेयरबजारको विकासमा क्रान्ति छायो । सन् १८७५ मा स्थापना भएको एशियाको सबभन्दा पहिलो बम्बे स्टक एक्सचेञ्जमा पनि १४ मार्च १९९५ को बम्बे अनलाइन ट्रेडिङको स्थापना र १५ जुलाई १९९९ मा सीडीएसएलको प्रयोगपछि मात्र आमूल परिवर्तन देखियो । सन् १९९३ मा स्थापित नेशनल स्टक एक्सचेञ्जले पनि सन् २००० मा आएर पूर्ण स्वचालित कारोबार र केन्द्रीय निक्षेप सेवाको प्रयोग ग¥यो । पूर्वी पाकिस्तान स्टक एक्सचेञ्जका रूपमा सन् १९५४ मै स्थापना भएको ढाका स्टक एक्सचेञ्जले सन् २००४ मा आएर मात्र केन्द्रीय निक्षेप सेवा थालनी गरेको हो । २७ जनवरी २००४ मा केन्द्रीय निक्षेप बङ्गालादेश लिको स्थापनापछि मात्र चटगाउँ स्टक एक्सचेञ्ज र ढाका स्टक एक्सचेञ्जको कारोबार रकम र शेयरको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । पाकिस्तानमा पनि सन् २००१ मा सीडीएसको प्रयोगपछि मात्र लाहोर स्टक एक्सचेञ्ज इस्लामाबाद स्टक एक्सचेञ्ज र कराची स्टक एक्सचेञ्जको द्रुत विकास भएको हो । सन् १९८५ मा स्थापित कोलम्बो स्टक एक्सचेञ्जले ३० अगष्ट १९९१ मै सीडीएस प्राइभेट सब्सिडरी (सहायक) कम्पनी स्थापनामार्फत सेवा शुरू गरेको हो । श्रीङ्का यस क्षेत्रको छिटो विकास भएको शेयरबजार हो । सन् १९९४ मा शुरू गरिएको हाम्रो कारोबार पनि श्रीलङ्काली मोडेल नै हो । हामी कहाँ छौँ, उनीहरू कहाँ पुगिसके, विचारणीय छ ।
नेपाल स्टक मार्केट विकासको क्रममा धितोपत्रसम्बन्धी ऐन २०६३ बनेपछि यस क्षेत्रको विकासका लागि बलियो कानूनी आधार तयार भयो । बजारको विकास र विस्तार नियमन गर्न धितोपत्र बोर्डलाई यस ऐनले पूर्ण अधिकार दियो । यस ऐनको अधिकारलाई प्रयोग गर्दै धितोपत्र बोर्डले ‘धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली २०६७’ बनायो । त्यसै नियमावलीअनुसार २०६८ साल माघ १ गतेबाट केन्द्रीय निक्षेप सेवा लागू हुने भनेर घोषणा पनि गरियो । तर, हालसम्म लागू हुन सकेन ।
धितोपत्र केन्द्रीय निक्षेप सेवा कार्यान्वयन आजसम्म किन भएन ? अब माघ २ गतेदेखि हुन्छ कि हुँदैन ? यो सेवा कार्यान्वयनमा के के जटिलता छन् ? त्यसलाई एकपल्ट चिन्तन गर्नु जरुरी छ ।
ऐनको अभाव
नेपालमा ट्रष्ट ऐन बनेकै छैन । ऐन नबनीकन नियमावलीको आधारमा यो सेवा सञ्चालन गर्न खोजिएको छ । स्टक एक्सचेञ्जको कारोबारलाई हेर्दा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत २ सय ४४ कम्पनी छन् र करीब पौने २ अर्ब शेयर सङ्ख्या रहेको छ । चुक्तापूँजी रू.१४ अर्ब ८४ करोड ९६ लाख ६८ हजार ५ सय ७० र बजार पूँजीकरण करीब ९ खर्ब ५० अर्ब रहेको देखिन्छ । सोही आकारको भौतिक रूपका प्रमाणपत्रहरूलाई परिवर्तन गरी विद्युतीय रूपमा राख्ने प्रणाली सीडीएस हो । यो सेवा सञ्चालनका लागि राज्यका तर्फबाट जुन स्तरको प्रयास आवश्यक थियो, त्यो भएको छैन । ऐन तर्जुमाका लागि राज्यका तर्फबाट पहल कदमी हुन आवश्यक छ । हाल नियमावलीमा सञ्चालन गरे पनि ऐनको अभावमा यसले पूर्णता पाउन सक्तैन ।
सम्झौताको चाङ
केन्द्रीय निक्षेप प्रणाली सञ्चालनका लागि यसका पक्ष दलाल व्यवसायी, निक्षेप सदस्य, लगानीकर्ता, क्लियरिङ बैङक, शेयर निष्कासनकर्ता कम्पनीहरू हुन् । (क) सीडीएस र निष्कासनकर्ता (कम्पनीहरू), (ख) सीडीएस र निक्षेप सदस्य, (ग) निक्षेप सदस्य र दलाल व्यवसायी, (घ) निक्षेप सदस्य र लगानीकर्ता (ङ) दलाल व्यवसायी–सीडीएस– क्लियरिङ बैङ्कको त्रिपक्षीय सम्झौता, (च) सीडीएस, निष्कासनकर्ता र रजिष्ट्रारबीच सम्झौताहरू भएका छन् । लगानीकर्ताले किनेका शेयरहरू समयमा प्राप्त भएनन् र उनीहरूलाई मर्का पर्न गयो भने उनीहरूले कहाँ उजुरी गर्ने ? उसले खरीद गरेको शेयर ढिलाइ हुनुमा निक्षेप सदस्य दलाल व्यवसायी क्लियरिङ बैङ्क सीडीएस, स्टक एक्सचेञ्ज, निष्कासनकर्ता जसको पनि भूमिका हुन सक्छ । तर, उसको सम्झौता निक्षेप सदस्यसँग मात्र हुन्छ । के त्यही सम्झौताले उसको समस्या समाधान होला ?
ग्राहक खातामा पहुँच
सीडीएस सञ्चालन भएका देशहरूमा दलाल व्यवसायीहरूलाई ग्राहकको खातामा डेविट गर्ने अधिकार दिइएको हुन्छ । उक्त खातामा ग्राहकले निरन्तर आफ्नो आवश्यक मौज्दात बनाई राख्नुपर्छ । ग्राहकले पैसा तिर्न आनाकानी गरे भने दलाल व्यवसायीले शेयर बेच्न र आफ्नो रकम उठाउन पाउँछ । तर, हामीकहाँ ग्राहक डिफल्टरको व्यवस्थै छैन । खाली दलाल व्यवसायी मात्र डिफल्टर हुन्छ । जुन व्यक्ति त्यही पेशा गर्न तत्पर छ, आफ्नो सकेसम्म सबै शक्ति प्रयोग गर्छ । तर, त्यसलाई दोषी देखाइन्छ र काम गर्नबाट वञ्चित गरिन्छ । एउटाको गल्तीले अर्काेले दुःख पाउने अवस्था रहेसम्म सीडीएस सञ्चालनमा बाधा पुग्छ ।
सर्ट सेल र अक्सन (नभएको शेयर विक्री र बोलकबोल)
सीडीएस लागेका बजारमा सर्ट सेल गर्न र त्यस्तो शेयरहरूको परिपूर्ति बोलकबोल प्रथाद्वारा खरीद गरी पूर्ति गर्ने व्यवस्था मिलाइएको हुन्छ । हामीकहाँ सामान्य गल्तीका लागि २० प्रतिशत जरीवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ । यो जरीवाना पनि दलाल व्यवसायीले तिर्नुपर्छ । यस्तो सामान्य भूलमा पनि कारोबार सच्याउन नपाइने व्यवस्थाले दलाल व्यवसायीहरू आफैमा आतङ्कित छन् । कारोबार गर्ने व्यवसायीहरू नै त्रसित भएपछि सीडीएस कार्यान्वयनमा चुनौती देखिनु स्वाभाविकै हो ।
क्लियरिङ बैङ्क
सीडीएस सञ्चालनमा क्लियरिङ बैङ्कको ठूलो भूमिका रहन्छ । हाल एउटा मात्र बैङ्कले नेप्से र सीडीएसको काम गरिरहेको छ । शेयर व्यवस्थापनका लागि यति धेरै डीपी दिइएको छ । रकम व्यवस्थापनका लागि पनि एउटा मात्र बैङ्क देखिन्छ । हालको अवस्थामा यस्तै बैङ्किङ रह्यो भने यसबाट हाम्रो राफसाफ र क्लियरिङ चक्र पूरा हुन सक्तैन । बैङ्किङ सेवा अझै चुस्त दुरूस्त हुन कम्ती पनि ४–५ ओटा बैङ्क हुनु आवश्यक छ । हालको बैङ्किङ व्यवस्थाले यो प्रणाली सञ्चालनका लागि सहयोग पु¥याउँदैन ।
लागत वृद्धि
अहिले शेयर नामसारीका लागि प्रतिनामसारी रू.५ तिरे पुग्छ । तर, सीडीएस लागू भइसकेपछि त्यही दस्तुरलाई रू.२५ पु¥याइएको छ । निक्षेप सदस्यको दर्ता तथा नवीकरण शुल्क पनि धेरै छ । सूचीकृत कम्पनीहरूलाई १ लाखदेखि १२ लाखसम्म सीडीएसमा दर्ता हुन र वार्षिक शुल्क गरी अतिरिक्त लागत थपिएको छ । निक्षेप सदस्यको कार्यालय सञ्चालन खर्च वार्षिक १५–२० लाख लाग्छ । यही लागत सहन नसकेर एक निक्षेप सदस्यले आफ्नो कारोबार फिर्ता बुझाएका छन् ।
विभिन्न असहज परिस्थिति हुँदाहुँदै पनि दक्षिण एशियाली मुलुक सबैले सीडीएस सञ्चालन गरिसकेका छन् । यो सीडीएस प्रणाली कुनै अद्भुत र लागू नै गर्न नसकिने त होइन । तैपनि, यसलाई नेपाल सरकार, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले प्रतिष्ठाको विषय सम्झिएर काम गर्नु गराउनुपर्छ । साथै, सीडीएससी, डीपी र ब्रोकरहरूले यसको सञ्चालनलाई सहयोग पु¥याउनुपर्छ । हामी शेयरबजारमा विदेशी र गैरआवासीय नेपालीको लगानीको अपेक्षा गरिरहेका छौं । त्यस्तो लगानी भित्र्याउन हाम्रो सेवा अन्तरराष्ट्रिय स्तरको हुनैपर्छ । र, हाल देखिएका जटिलतालाई समाधान गर्दै लैजानुपर्छ ।
धितोपत्र व्यवसायी रिमालको लेख अभियान दैनिकबाट साभार गरिएको हो ।
प्रतिक्रिया