वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर बजारमा ‘होलटाइमर’को सख्या बढ्दै

अर्थटुडे
२०७१ कार्तिक २७, बिहीबार
काठमाडौं  । सरकारी जागिरबाट सेवानिवृत्त भएका सुकेधाराका विष्णु भण्डारी अचेल बिहानदेखि बेलुकीसम्म सेयर बजारतिर भेटिन्छन् । बिहान ११ बजेपछि घरबाट निस्किने उनी दिनभरिजसो ब्रोकर र लगानीकर्तासँग भलाकुसारी गरिरहेका हुन्छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार खुलेदेखि बन्द नहुँदासम्म उनी कतै जान्नन् ।
“सेयर बजारसँग सम्बन्धित राम्रो ज्ञान र सीप भए कुनै रोजगार गर्नुपर्ने रहेनछ,” मंगलबार ४८ नम्बर ब्रोकर परिसरमा भेटिएका भण्डारी भन्दै थिए, “म त होलटाइमर भएँ ।” केही वर्षअघि सेयर बजार प्रवेश गरेका भण्डारी ‘बिजनेस आवर’मात्रै होइन, बिदामा पनि सेयरबारे सूक्ष्म अध्ययन गरिरहेका हुन्छन् ।
 laganikarta
सेयर बजारमा दैनिक २ घण्टा बिताउने असीम थापा विद्यार्थी हुन् । साताका २ दिन उनी नियमित रूपमा दलाल कम्पनी पुग्छन् । दैनिक खर्चको रकम बचत गरी सेयरमा लगानी गर्दै आएका थापाले यस्तो थालेको करिब २ वर्ष भयो । यसले उनको दैनन्दिनका आवश्यकता पूरा भएका पनि छन् । भन्छन्, “भविष्यमा जागिर गर्नुभन्दा पूर्ण रूपमा सेयरमै लगानी गर्ने योजना छ, त्यसका लागि अहिलेदेखि नै आफूलाई तयार बनाउँदै छु ।”
इमाडोल बस्ने प्रवीण ढकाल पनि हरेक दिन १२ देखि ३ बजेसम्म सेयर बजारतिर ‘डेरा जमाएर’ बस्छन् । पहिले घरजग्गा कारोबार गर्ने उनी मन्दीपछि सेयर कारोबारमा छिरेका हुन् । अहिले उनी ‘होलटाइमर’ सेयर कारोबारी भएका छन् । घरजग्गा बेचेर आएको रकम उनले सबै सेयरमा लगानी गरेका छन् । “राम्ररी परख गर्न सक्ने हो भने सेयर कारोबार नशाजस्तो हुँदो रहेछ,” उनी भन्दै थिए, “यस्तै नशामा रमाउनेमजस्ता सयौं छन् ।”
सेयर बजारलाई नै पूर्णकालीन पेसा बनाउने यी कारोबारी केही उदाहरण हुन् । हाल ५० वटा ब्रोकर कम्पनीमा करिब २ हजार पूर्णकालीन सेयर लगानीकर्ता छन् । एउटा ब्रोकर कम्पनीमा औसत ४० जना पूर्णकालीन लगानीकर्ता रहेको सेक्योर्ड सेक्युरिटिजका सञ्चालक सन्तोष मैनाली बताउँछन् । “सेयर बिक्रीलाई नै प्राथमिक पेसा बनाउने धेरै छन्,” उनी भन्छन्, “यसले सेयरमा आमनागरिकको रुचि देखाउँछ ।”
सेयर बजारमा सेवानिवृत्त कर्मचारी, विद्यार्थी, व्यवसायीसँगै महिला लगानीकर्ता पनि पूर्णकालीन भएका छन् । मैनालीका अनुसार हाल बजारमा राष्ट्र बैंक, नेपाल बैंक, वाणिज्य बैंक, कृषि विकास बैंक तथा निजामती सेवावाट निवृत्त भएकाको बाहुल्यता छ ।
प्रत्येक ब्रोकर कम्पनीमा ५ जना जति पूर्णकालीन महिला तथा विद्यार्थी रहेको मैनालीले बताए । बिहान–साँझ घरको काम गर्न, बच्चा हुर्काउन पनि पाइने र छोटो समयमै राम्रो कमाइ पनि हुने भएकाले सेयर बजारमा उनीहरूको प्रवेश बढेको हो ।
ज्ञानेश्वरकी लक्ष्मी केसी त्यस्तै लगानीकर्ता हुन् । दैनिक घरधन्दा सकेर कारोबार खुल्नुअघि नै सेयर बजार पुग्ने उनी ४ महिनादेखि यो क्षेत्रमा पूर्णकालीन छिन् ।
“दिउँसो कतै जागिर गरेकी छैन, यसैले थेगेको छ,” ब्रोकर कम्पनीमा भेटिएकी भक्तपुरकी नीरा भण्डारीले भनिन्, “तालिमै लिएर यो क्षेत्रमा लागेकी हुँ र मलाई सन्तोष छ ।”
सेयर विश्लेषक रवीन्द्र भट्टराईका अनुसार विद्यार्थी र महिला सेयरबारे धेरै जिज्ञासा लिएर आउँछन् । “विद्यार्थी तथा फुर्सदिला महिला सेयरमा लगानी गर्नकै लागि भनेर तालिम लिन आउँछन्,” उनी भन्छन्, “पहिले यो क्षेत्रमा पुरुषको वर्चस्व थियो, अहिले धेरै महिला थपिएका छन् ।”
अरुको तुलनामा विद्यार्थी लगानीकर्ताले धेरै अध्ययन गरेर लगानी गर्ने गरेको अनुभव भट्टराईले सुनाए । “उनीहरू आंशिकभन्दा पूर्णकालीन धेरै छन्,” उनले भने, “यसरी बुझेर आउँदा बजारले राम्रा लगानीकर्ता पाउँछ ।” सेयर बजार प्रवेश गरेका नयाँ लगानीकर्ताले न्यून मूल्य भएका वाणिज्य बैंकको सेयर खरिद गर्ने गरेको उनी बताउँछन् ।
अन्य व्यापार–व्यावसायमा व्यस्तहरू पनि सेयर बजारमा आकर्षित देखिन्छन् । बजारमा देखिएको उतारचढावले बेला–बेला लगानीकर्तालाई झस्काए पनि सधैं उस्तै हँुदैन । बजार बढ्ने क्रममा लगानी सुरु गर्ने र घट्दो क्रममा आत्तिएर बिक्री गर्ने क्रम भने सुध्रिएको छैन ।
लगानीकर्तामा विविधता आए पनि हल्लाको भरमा लगानी गर्नेको संख्या पनि कम छैन । बजारका लागि आवश्यक केन्द्रीय निक्षेप सेवा, सामूहिक लगानी कोषलगायतका पूर्वाधार प्रभावकारी हुन नसक्दा लगानीकर्ता चेपुवामा पर्ने गरेका छन् ।

-कारोबार दैनिकबाट 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ