काठमाडौं । सरकारले सुन आयातको कोटा प्रणाली तोकेर नियन्त्रण गर्दै आएको छ । तर, चाँदीको आयात खुल्ला छोड्दा अत्याधिक सुन आयात भई सिमापारी तस्करी हुन थालेको छ । भारतिय रुपैयाका लागि चाँदीको तस्करी गर्ने क्रम बढीरहेको छ । यसलाई पुष्टि गर्ने दुईवटा आधार छन् । एक चालु आर्थिक वर्षको तीन महिनामै साढे ८ अर्वको चाँदी आयात भएको छ भने अर्कोतर्फ दिनहुँ सिमावर्ती जिल्लाहरुबाट अवैध सुन पक्राउ परेका घटनाहरु सार्वजनिक भइरहेका छन् ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष ०७१/७२ को असोजसम्ममा ८ अर्ब ३६ करोड रुपैयाँबराबरको १ लाख ४१ हजार किलो चाँदीको आयात भएको छ, जुन आव ०७१\७२ को यसै अवधिको तुलनामा २९४ प्रतिशतले धेरै हो । अघिल्लो आवको यो अवधिमा २ अर्ब ६० करोडबराबरको ३६ हजार २१ किलो चाँदी आयात भएको थियो ।
सरकारले सुन आयातमा कोटा तोकेर कडाइ गरेसँगै चाँदीको आयात उच्च वृद्वि भएको हो । सुनमा लगानी गर्नेहरू चाँदीतर्फ पनि लागेको र नेपालबाट अवैध रूपमा चाँदी भारत निकासी हुन थालेकाले चाँदीको आयात उच्च भएको बताइएको छ ।
व्यवसायी भने यो आयातलाई अस्वाभाविक मान्छन् । “चाँदीको आयात अस्वाभाविक रूपमा बढिरहेको छ,” नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यले भने ।
लगानीको रूपमा चाँदी खरिद गर्ने सर्वसाधारणको संख्या बढेकाले बजारमा चाँदीको माग वृद्वि भएको हुनसक्ने शाक्यले बताए । “अहिले चाँदीको भाउ ४ वर्षयताकै कम छ, सुन किन्न नसक्नेहरू थोरै भए चाँदीमा लगानी गर्न थालेका छन्,” उनले भने ।
यसबाहेक सीमावर्ती बजारबाट अवैध रूपमा चाँदी भारतीय बजारमा गएको हुनसक्ने व्यवसायीको अनुमान छ । भारतीय रुपैयाँका लागि केही परिणाम सुन सीमावर्ती बजारबाट अवैध रूपमा गएको हुनसक्ने सम्बद्ध व्यवसायी बताउँछन् ।
गत सातामात्र प्रहरीले वीरगन्जमा अवैध २० किलो चाँदीसहित एक युवकलाई पक्राउ गरेको थियो । त्यसअघि पनि पर्सा प्रहरीले ६० किलो चाँदीसहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।
नेपाल राष्ट्र बैंकले सुन आयातमा कोटा तोके पनि चाँदी आयात भने बजारको मागअनुसार गर्न सकिने व्यवस्था गरेको छ । उक्त व्यवस्थाअनुसार वाणिज्य बैैंक र व्यवसायीले चाँदी आयात गरी बिक्री गर्दै आएका छन् ।
भन्सार विभागको तथ्यांकअनुसार प्रत्येक वर्ष चाँदीको आयात दोब्बर भइरहेको छ । विभागका अनुसार आव ०६९\७० मा ८ अर्ब ७८ करोडबराबरको १ लाख ३४ हजार किलो चाँदी आयात भएकोमा आव ०७०÷७१ मा १२ अर्ब ७११ करोड रुपैयाँबराबरको २ लाख ८ हजार किलो चाँदी आयात भएको छ ।
चाँदीको आयात
आव परिणाम (केजी) मूल्य (रुपैयाँमा)
०६८\६९ ५२,३५० ४,३७,१०,१८,०००
०६९\७० १,३४,३१० ८,७८,३०,०३,०००
०७०\७१ २,०८,९२१ १२,७१,१२,३२,३८७
०७१\७२ असोजसम्म १,४१,९३१ ८,३६,२७,७६,७०७
प्रतिक्रिया