वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थमन्त्री डा.महतद्वारा बजेट कार्यान्वयन गर्न निर्देशन

अर्थटुडे
२०७१ मंसिर २, मंगलवार

काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले चालु आर्थिक बर्षको बजेटमा समावेश भएका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्रालय अन्तर्गतका महाशाखाका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार भएको बजेट सम्बन्धी छलफलमा कानून निर्माणका कामहरुमा ढिलाई भएमा विकास निर्माण तथा लगानी समेत प्रभावित हुने भन्दै अर्थमन्त्री डा महतले नयाँ आर्थिक सुधारसँग सम्वन्धित सबै ऐन कानूनहरुको मस्यौदा निर्माणलाई यथाशीघ्र पूरा गर्न निर्देशन दिए ।

कार्यक्रममा अर्थसचिव सुमनप्रसाद शर्माले बजेटमा उल्लेख भएका कार्यक्रमहरुको कार्यान्वयनको लागि महाशाखाहरुले सक्रियताका साथ काम गरिरहेको र आगामी दिनमा अझ सक्रिय हुनुपर्नेमा जोड दिए ।
सो अवसरमा बजेटमा उल्लेख भएबमोजिम आर्थिक सुधारसँग सम्वन्धित ऐन कानूनहरुको तर्जुमाबारे भैरहेको पछिल्लो अवस्थाका बारेमा कानून महाशाखाका प्रमुख मणिराम ओझाले जानकारी दिएका थिए ।

बैंक तथा बित्तीय क्षेत्रका बारेमा सहसचिव नवराज भण्डारी, आर्थिक स्थितिका बारेमा अर्का सहसचिव शिशिरकुमार ढुंगाना, अनुगमनको स्थितिका बारेमा कृष्णप्रसाद देवकोटा र बजेटका बारेमा उपसचिव निर्मलहरि अधिकारीले पछिल्लो अवस्थाका बारेमा मन्त्रीलाई जानकारी गराएका थिए ।

सो अवसरमा लगानीयोग्य पुँजी नभएका साना र मध्यम व्यवसायीहरुलाई उपलब्ध गराउने भनिएको स्टार्ट अप फण्ड, पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारको मूल्य अनुसारको मूल्य समायोजन, कृषि कर्जाको ब्याज अनुदान, मापदण्ड पूरा गरेका मुद्रण उद्योगहरुलाई दिइने सुरक्षण मुद्रणको इजाजत, कमोडिटी मार्केट, कृषि, पशु तथा बाली बीमा, ठूला उत्पादनमूलक उद्योग तथ पर्यटन उद्योग, युवा स्वरोजगारी, चिया उद्योग लगायतका बिषयमा छलफल भएको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ