वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकहरुको सुन बिकेन, बजारभरी अवैध सुन

अर्थटुडे
२०७१ मंसिर ११, बिहीबार

काठमाडौं । बाणिज्य बैंकहरुले आयात गरेको सुन बिक्री भएको छैन । बजारमा भने चीनबाट तस्करी भएर भित्रिएको अवैध सुन छ्याप्छ्याप्ती पाइएको छ । बैंकको सुनभन्दा तस्करसँग सस्तोमा पाइने भएपनि व्यवसायीहरु पनि बैंकबाट सुन किन्न छोडेर तस्करको भर पर्न थालेका छन् । सुन सुन बिक्री नभएपछि बाणिज्य बैंकहरुले आयात गर्न छाडेका छन् । साउनयता बैंकहरुले आयात नगरेकाले १ हजार ५ सय किलो सुनको कोटा बाँकी छ भने नेपाल भित्रिएको ३ सय ७० किलो सुन पनि बैंकमै थन्किएको छ ।

कोटा प्रणाली अनुसार हाल बाणिज्य बैंकहरुले दैनिक १५ किलो सुन आयात गरी सुनचाँदी व्यवसायीलाई बिक्री गर्नुपर्ने व्यवस्था रहेको आजको कारोकार दैनिकमा समाचार छ ।

gold
“बैंकबाट व्यवसायीले सुन नकिनेपछि साउनयता छिटपुट मात्र आयात भइरहेको छ” बैंकर्स संघका अध्यक्ष राजनसिंह भण्डारीले भने ।

भन्सार विभागको तथ्यांकमा पनि चालु आर्थिक वर्षमा छिटफुट मात्र सुन आयात भएको देखिएको छ । चालु आवको साउनमा २.४४, भदौमा १५१.९ र असोजमा १.६४ किलो गरी असोजसम्ममा १ सय ५६ किलो मात्र सुन आयात भएको छ । जबकी गत आर्थिक वर्षको असोजसम्ममा ८ सय १४ किलो सुन आयात भएको थियो । यसैगरी बैर्षभरीमा ६ हजार २ सय किलो सुन आयात भएको थियो ।

सुन विक्री नहुने भएकाले बैंकहरु आयातमा अनिच्छुक देखिएका छन् । आयात गरेको सुन नबिकेपछि नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंक गुहारेको छ ।

“कात्तिकयता बैंकहरुबाट व्यवसायीले न्युन मात्रामा सुन किनिरहेका छन्” बैंकर्स संघका अध्यक्ष राजनसिंह भण्डारीले भने, “सुन बिक्न छाडेपछि हामीले केन्द्रीय बैंकको ध्यानाकर्षण गराएका छौं ।” ठुलो रकम बराबरको सुन बैंकहरुमा थुप्रिदा बैंकहरुको लागत बढेको उनको भनाइ छ ।

बैंकहरुलाई सुन आयात गर्न दिएको जिम्मेवारी सुनचाँदी व्यवसायीहरु असन्तुष्ट रहेकाले उनीहरुले व्यवसायीलाई बैंकबाट सुन नकिन्न उक्साएको भण्डारीले आरोप लगाए ।

तर, सुनचाँदी व्यवसायी संघका अध्यक्ष मणिकरत्न शाक्य भने आफुहरुले बैंकबाट सुन नकिन्न नभएको बताउँछन् । “बजारमा चीन र भारतको अवैध सुन आएकाले बैंकबाट नबिकेको हुनसक्छ” उनले भने, “तर हामीले सदस्यलाई बैंकबाट सुन नकिन्न भनेका छैनौं ।”
चीनतर्फबाट अबैध ढंगले बढी सुन आईरहेको र व्यवसायीहरुले तस्करसँग सस्तोमा सुन किन्न थालेपछि बैंकको सुन नबिकेको हुनसक्ने शाक्यले आशंका गरे ।
महासंघले सुनको अवैध कारोबार रोक्नका लागि व्यवसायीलाई आयात अधिकार दिन माग गर्दै आएको छ । “बैंकहरुको काम व्यापार गर्ने होईन, यो व्यवसायीलाई दिनुपर्छ” महासंघका सल्लाहकार तेजरत्न शाक्यले भने, “बैंकहरुले आयात गर्ने हो भने नुन पनि गरे भैहाल्यो नि ।” व्यवसायीलाई आयात गर्ने जिम्मेवारी दिए अहिलेको समस्या केही हदसम्म समाधान हुने उनले दावी गरे ।

राष्ट्र बैंकका प्रवक्ता मनमोहन कुमार श्रेष्ठ बैंकहरुको सुन नबिकेको बारे केन्द्रीय बैंकको ध्यानाकर्षण भइसकेको र समस्या समाधान गर्न छलफल भइरहेको बताउछन् ।

“बजारमा अवैध रुपमा भित्रिएको सुनले बैंकहरुबाट बिक्री नभएको हुनसक्छ” श्रेष्ठले भने, “समस्या समाधानका लागि बाणिज्य तथा आपुर्ति मन्त्रालयसँग छलफल भइरहेको छ ।”

आव २०६६\०६७ मा ४१ अर्वको सुन आयात भई ब्यापार घाटा उच्च भएपछि सरकारले सुन आयात नियन्त्रण थालेको हो । त्यसपछि सुन आयात र बिक्री व्यवस्थित गर्न सरकारले राष्ट्र बैंकलाई अधिकार दिएको थियो ।

केन्द्रीय बैंकले सुन आयात तथा बिक्री कार्यविधि जारी गरी कोटा प्रणाली लागु गरेको हो । राष्ट्र बैंकले सुनलाई विलासी वस्तुको रुपमा परिभाषित गर्दै आयातलाई निरुत्साहित गर्ने नीति पनि अवलम्वन गरेको छ । जसअनुसार हाल बाणिज्य बैंकले दैनिक १५ किलो मात्र सुन आयात गर्न अनुमति दिएको छ । उक्त सुन सुनचाँदी व्यवसायीलाई मात्र बेच्नुपर्छ । यसैगरी व्यवसायीले पनि ढिक्का सुन बेच्च नपाइने र गहना मात्र बनाएर बेच्नुपर्ने व्यवस्था गरिएको छ ।
तर सरकारले सुन व्यवसायको प्रभावकारी अनुगमन गर्न नसक्दा बजारमा जथाभावी कारोबार हुने गरेको छ । गत वर्ष बाणिज्य विभागले सुन पसलको अनुगमन सुरु गरेपछि व्यवसायीको विरोधका कारण रोकिएको थियो । त्यसपछि मापदण्ड निर्देशिका बनाएर मात्र अनुगमन गर्ने सहमति भएपनि हालसम्म निर्देशिका र मापदण्ड बन्न सकेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ